राजनीति

एमाले अध्यक्ष ओलीले लिए शपथ

तस्बिर: विजय राई/नागरिक

नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

महाधिवेशन स्थल भृकुटीमण्डपमा आयोजित विशेष समारोहका बीच पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई शपथ गराएका हुन्।

अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको बागडोर सम्हाल्न पुगेका छन्।

निर्वाचन आयोगका अनुसार आजको समारोहमा अध्यक्ष ओलीसहित तीन जना पदाधिकारीले मात्र शपथ लिएका छन्। अध्यक्ष ओलीसँगै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष प्राध्यापक डा. भरतराज पहारी र लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेलले पनि शपथ लिएका हुन्।

पहारी र कँडेल भने निर्विरोध निर्वाचित भएका हुन्।

विधानतः अध्यक्षले शपथ लिएपछि अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अध्यक्ष ओलीले नै शपथ गराउने कार्यक्रम रहेको छ।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली पक्षको एकछत्र वर्चश्व देखिएको छ। दुई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएकोमा अधिकांश पदमा ओली प्यानलका उम्मेदवारले बाजी मारेका छन्।

ईश्वर पोखरेलको प्यानलबाट पदाधिकारीमा जम्मा दुई जना नेताले मात्र जित हासिल गर्न सके।

पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भएका छन्। सचिव लगायत अन्य महत्त्वपूर्ण पदहरूमा ओली प्यानलका उम्मेदवारहरू नै निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ३ पुस २०८२ १७:४३ बिहीबार