राजनीति

ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कमिटी बैठक जारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक चलिरहेको छ।  

प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक जारी रहेको एमाले पार्टी प्रचार र प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

आजको बैठकमा पार्टीको सचिवालय र पोलिटब्युरो बैठकद्वारा पारित उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्।  

सोमबार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन्। आज कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

 प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ। सोमबार प्रतिवेदनमाथि ४९ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ६ श्रावण २०८२ १२:३१ मंगलबार

#NagarikNews #NepaliNews