राजनीति

एमाले केन्द्रीय कमिटी बैठकमा ९ एजेण्डा : माइन्युट लेखन र बहसको नोट तयार गर्न जिम्मेवारी तोकियो

आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरिएको छ।

सोमबारदेखि सुरु भएको बैठकमा आज पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनदेखि विभिन्न संरचना गठनसम्मका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

बैठकमा अध्यक्षको प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनयन, विभागहरूको गठन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग गठन तथा समसामयिक प्रस्तावमाथि छलफल गर्ने एजेण्डा प्रस्तुत गरिएको छ।

त्यस्तै, बैठकका निर्णय तथा छलफललाई व्यवस्थित रूपमा अभिलेख गर्न माइन्युट लेखन समिति र बैठकमा उठेका विषय तथा बहसलाई समेट्न बहस नोट कमिटी गठन गरिएको छ।

बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई दिइएको छ।

त्यस्तै, बैठकमा हुने बहसको नोट तयार गर्ने जिम्मेवारी उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल, केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराईलाई दिइएको छ।

प्रकाशित: ६ आश्विन २०८३ ०७:१२ मंगलबार