राजनीति

अध्यक्ष ओलीको रिहाइको मागसहित एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम घोषणा (निर्णयसहित)

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै एमाले सचिवालय बैठकले विभिन्न विरोध कार्यक्रम तय गरेको छ ।

आज बसेको सचिवालय बैठकले ओलीको पक्राउलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकले देशभरका पार्टी संरचनामार्फत आन्दोलन चर्काउने कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्णयअनुसार आज दिउँसो ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने तय गरिएको छ । त्यस्तै, भोलि चैत्र १५ गते सबै जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाइनेछ ।

एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने पनि जनाएको छ । पार्टीले वर्तमान घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने संकेत गरेको छ ।

एमाले सचिवालयका निर्णयहरू:

पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित आज बसेको नेकपा एमालेको सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ: 

१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने। 

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने। 

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने। 

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।

प्रकाशित: १४ चैत्र २०८२ ११:२३ शनिबार