राजनीति

जेनजी आन्दोलनपछिको एमाले: के भन्छन् युवा नेता?

नेकपा एमाले ११ औँ महाधिवेशनमार्फत आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व छनोटको प्रक्रियामा छ। भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्वका लागि मतदान गर्न लामबद्ध हुँदै छन्। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंसपछि एमालेले एक वर्ष अगाडि सारेर महाधिवेशन गर्न लागेको हो। जेनजी पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री पदबाट सत्ता च्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली चौतर्फी आलोचनाको केन्द्रमा छन्। सोही आलोचनाको धार छल्न ओलीले पार्टीभित्र ‘फ्रेस म्यान्डेट’ लिएर शक्तिशाली देखाउन महाधिवेशन गरिरहेको तथ्य कसैले अस्वीकार गर्दैन। त्यही भएकाले एक वर्ष पछि गर्न बाधा नरहेको महाधिवेशन अगाडि सारेर उनी तेस्रो पटक अध्यक्ष हुन मैदानमै ओर्लिएका छन्। 

यस्तोमा एमाले महाधिवेशनले नयाँ युवाको भावनालाई कसरी सम्बोधन गर्छ? भन्ने विषय धेरैले बहस गरिरहेका छन्। कतिपयले जेनजी पुस्ताको भयानक विद्रोहपछिको एमाले महाधिवेशनमा एमालेजनको विवेकको परीक्षा हुने पनि बताइरहेका छन्। 

जेनजी पुस्ताले नेपालले उठाएको सुशासन र भ्रष्टाचारको विरोधको मुद्दाले राजनीतिक दल र नेताबाट पनि सोहीअनुसारको नयाँ प्रतिबद्धताको अपेक्षा गरेको छ। उक्त मुद्दामा एमाले युवा प्रतिनिधिहरू पनि सहमत नै सुनिन्छन्। 

‘महाधिवेशनले जेनजीका जायज मागका सम्बन्धमा धेरै हदसम्म समेट्छ नै। त्यो हाम्रो विश्वास हो,’ उदयपुरका इमान श्रेष्ठ भन्छन्, ‘तर युवा भन्दैमा नेतृत्वमा जानै पर्ने जिद्दीपन भने हाम्रो छैन। त्यसले पार्टीको जीवनलाई सकारात्मक प्रभाव गर्दैन।’ युवाहरूको मनोदशा भने नयाँ आउने नेतृत्वले ध्यान दिनेमा आफू विश्वस्त रहेको उनले सुनाए।  

धादिङकी प्रतिनिधि नबिना थापा एमालेले सधैँ युवालाई महत्त्व दिएको दाबी गर्छिन्। अहिले पनि ओलीकै नेतृत्वमा युवाका थप भावना समेट्दै अघि बढ्नुपर्ने उनको धारणा छ। उनी भन्छिन्, ‘पार्टी र युवाको भावना केपी ओलीले राम्रैसँग बुझ्नुहुन्छ, उहाँले नै हामी युवाको सपना साकार पार्नु हुन्छ।’ ओलीले सुरु गरेको विकास र समृद्धिको यात्रा पूरा गर्न सके सबै युवाका भावना सम्बोधन हुने उनको दाबी छ। 

एमाले महाधिवेशनले युवाका आवाज समेटेर सबै युवाप्रति सकारात्मक भावना छर्न आवश्यक रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य सगुन शर्मा बताउँछन्। ‘जेनजी आन्दोलनमा उठान भएका सकारात्मक विषयबाट हाम्रो पार्टी बाहिर रहन सक्दैन। त्यसको नेतृत्व नै अब एमालेले गर्नुपर्छ। त्यो ऊर्जा यो महाधिवेशनले पार्टीलाई दिने छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने। 

उता सिन्धुपाल्चोक युवा नेता नहकुल तिमिल्सेना भने अब ओलीबाट पार्टी नचल्ने र युवाका मुद्दा सम्बोधन नहुने टिप्पणी गर्छन्। ‘उहाँले दुई कार्यकाल पार्टीको नेतृत्व गरिसक्नुभएको छ। उहाँको कार्यसम्पादन पार्टीले देखेको छ,’ उनले भने, ‘जेनजी आन्दोलनपछि पार्टीमाथि प्रहार भइरहेको छ। यो हिसाबले उहाँले नेतृत्व छाडेर जाँदा राम्रो हुन्छ।’ 

प्रकाशित: १ पुस २०८२ १९:५९ मंगलबार