नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरा र अहम् (इगो) त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन नेताहरूलाई निर्देशन दिएका छन्।
पार्टीले भोगेका पछिल्ला राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै उनले विगतको दुई–तिहाइको अवस्थाभन्दा पनि माथि उठ्ने गरी पुनरागमनको संकल्प गरेका हुन्।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले फराकिलो सोचका साथ दत्तचित्त भएर जनताको काममा लाग्न नवनियुक्त सदस्यहरूलाई आग्रह गरे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्र ‘रियलाइजेसन’ को आवश्यकता रहेको औंल्याए। उनले रियलाइजेसन भनेको केवल आत्मालोचना मात्र नभई विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप भएको जिकिर गरे।
सत्यलाई आत्मसात् गर्न सके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सक्षम हुने उनको भनाइ थियो। पार्टीले व्यहोरेको धक्का स्वाभाविक भएको भन्दै त्यसबाट विचलित नहुन उनले कार्यकर्तालाई ढाडस दिए।
‘हाम्रो पार्टी महान् उद्देश्यका साथ अघि बढिरहेको छ। त्यसैले सानातिना कुरा, इगो र अनावश्यक विवादमा नअल्झी फराकिलो सोचका साथ अघि बढौं,’ अध्यक्ष ओलीले भने, ‘हामी दुई-तिहाइको अवस्थामा पुगेका थियौं, तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन। त्यस अवस्थामा रियलाइजेसन हुनुपर्छ। आफू को हौँ, हाम्रो उद्देश्य, कर्तव्य, अनुशासन र जिम्मेवारी के हो भन्ने बुझाइ हुनुपर्छ।’
प्रकाशित: १६ आश्विन २०८३ २०:५१ शुक्रबार