राजनीति

कांग्रेसको संस्थापन इतरमा दुई धार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका बेलाको संस्थापन इतर समूह विभाजित हुने भएको छ।

सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको संस्थापन पक्षसँग महाधिवेशनमा प्रतिस्पर्धा गर्न शेखर कोइराला नेतृत्वमा इतर समूह संगठित बनेको थियो।

महाधिवेशनमा सभापति बाहेक महामन्त्री, सह-महामन्त्रीसहितको पदमा इतर पक्षका नेताहरूले हात पारे पनि १५ औं महाधिवेशनको सङ्घारमा आइपुग्दा उक्त समूह विभाजित हुने निश्चित बनेको छ।

इतर समूहको नेतृत्व गर्दै १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका शेखर कोइराला नै आगामी महाधिवेशनमा उक्त समूहबाट उम्मेदवार बन्ने बताउँदै आएका छन्।

तर, सोही समूहबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका छन्। आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँग छलफलमा थापाले १५ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका हुन्। ‘म पार्टीको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ उनले भने, ‘म पार्टीको सभापति बन्छु/बन्न चाहन्छु।’

सोही समूहका नेता शेखर कोइरालाले यसअघि नै सभापतिको प्रत्याशी बन्ने जनाउँदै नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाउँदै आएका थिए।

२०७९ मंसिरमा भएको आम निर्वाचनपछि पार्टी संसदीय दलको निर्वाचन पूर्व पुस ४ गते शेखरले संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने सहमति गरेका थिए। र, १५ औं महाधिवेशनमा शेखरलाई सभापतिमा सहयोग गर्ने सहमति भएको निकटहरूको दाबी छ। 

थपिँदै आकाङ्क्षी

पुस २६ गतेदेखि काठमाडौंमा गर्ने भनिएको नेपाली कांग्रेसको १५औं महाधिवेशन त्यस मितिमा नहुने निश्चित प्रयास छ। पार्टी सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नयाँ मितिमा सहमति गरेर आगामी केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्नेछ।

४८ दिनसम्म लम्बिएको केन्द्रीय समिति बैठकले तय गरेको मितिमा महाधिवेशन नहुने नभए पनि कांग्रेसका नेताहरू पार्टी सभापति देखिका पदाधिकारीमा आकांक्षासहित नेता तथा कार्यकर्तामा माझ पुग्न थालेका छन्।

गुटगत उम्मेदवारी मनोनयनका बेलासम्म कांग्रेसका नेताहरू को कहाँ अडिन्छन् र टिक्छन् निश्चित छैन। सभापति, दुई/दुई उपसभापति र महामन्त्री तथा आठ सहमहामन्त्रीका लागि दुई दर्जन बढि नेताहरूले आकाङ्क्षा राख्दै आएका छन्।

अझ सभापतिकै लागि झन्डै दर्जन नेताले आकाङ्क्षा राख्दै तयारीमा जुटेको निकटहरूसँग बताउने गरेका छन्। तर, अहिलेसम्म औपचारिकरुपमा कुनै पनि नेताहरूले आगामी महाधिवेशन सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छैनन्। त्यसो त अन्य पदाधिकारीहरूमा पनि नेताहरू औपचारिक घोषणा भने गरिसकेका भने छैनन्।

कांग्रेस महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता वितरणमै अलमलमा परेको कांग्रेसले अब फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन भयो भने त्यसअघि महाधिवेशन गर्नेमा पनि आशंका व्यक्त भएको छ।

कांग्रेसको महाधिवेशन पुसमा हुने जस्तै फागुन २१ गतेका लागि तोकिएको आम निर्वाचन हुनेमा पनि उत्तिकै आशंका र संशय व्यक्त गर्नेहरू छन्।

तर, कांग्रेस विधानले वर्तमान सभापति शेरबहादुर देउवालाई अब सभापतिको प्रत्याशी बन्न रोक लगाएको छ। भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वंसपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका देउवाले पार्टीको सक्रिय राजनीतिबाट अलग हुने बाटो समाइसकेका छन्। त्यसअघि नै चितवन पुगेर देउवाले आफू नेतृत्वको प्रतिस्पर्धामा नउत्रिने घोषणा गरिसकेका थिए।

१५ औं महाधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व दिने निश्चित छ। मुलुकको पुरानो र लोकतान्त्रिक दल कांग्रेसको मूल नेतृत्वमा पुग्ने आम नेता तथा कार्यकर्ताले चाहना राख्नु अस्वाभाविक होइन। तर, आगामी महाधिवेशनबाट पार्टीको मूल नेतृत्वका लागि नेता डा. शखेर, कार्यवाहक सभापति खड्का, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र कृष्णप्रसाद सिटौला आकाङ्क्षी छन्।

शेखर, निधि र सिंह १४औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका थिए भने सिटौला १३औं महाधिवेशनमै सभापतिको प्रत्याशी बनेका थिए।

महाधिवेशनको मुखैमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि तत्कालीन संस्थापनको नेतृत्व गर्दै रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेका थिए। त्यसबेला सिटौलाले आफ्नो समूहबाट गगनकुमार थापालाई महामन्त्रीको उम्मेदवार बनाएका थिए।

१४ औं महाधिवेशनसम्म आइपुग्दा उनै सिटौलाको साथ छाडेर शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थापाले आगामी महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने बताएका छन्।

१४ औं महाधिवेशनमा उपसभापतिको प्रत्याशी बनेका चन्द्र भण्डारीले पनि सभापतिको आकाङ्क्षी रहेको बताएका छन्। तर, उनले पार्टीका नेता तथा कार्यकर्तासँगको छलफलपछि निर्णयमा पुग्ने जनाएका छन्। अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका छन्। उनले १४औं महाधिवेशनमा पनि उम्मेदवारी दिएका थिए। 

कांग्रेसका दुई उपसभापति पदका लागि नेताहरूले अहिलेसम्म नाम अघि सारेका छैनन्। तर, उपसभापतिमा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई स्वाभाविक उम्मेदवारका रुपमा हेरिएको छ। अघिल्लो महाधिवेशनमै महामन्त्री वा उपसभापतिको उम्मेदवार हुने चाहना राखेका बालकृष्ण खाँण र एनपी साउँदलाई पनि हेरिएको छ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा पराजित मीनेन्द्र रिजाल र प्रकाशशरण महत आगामी महाधिवेशनमा फेरि महामन्त्रीमै उम्मेदवार बन्छन् की उपसभापति टुंगोमा पुगिसकेका छैनन् 

१४औं महाधिवेशनमा महामन्त्रीमा पराजित प्रदीप पौडेलका साथै सह-महामन्त्रीहरू बद्री पाण्डे, महालक्ष्मी उपाध्याय, भिस्मराज आङ्दम्वे पनि महामन्त्रीका आकाङ्क्षी छन्।

त्यस्तै, निवर्तमान गृहमन्त्री रमेश लेखक तथा सदस्यहरू गुरुराज घिमिरे, नैनसिंह महर, कुन्दनराज काफ्लेसहितका नेताले पनि आफूलाई महामन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन्।

त्यस्तै, सभापति देउवाकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा पनि पदाधिकारीको आकाङ्क्षी छिन्।

कांग्रेसका कतिपय सहमहामन्त्रीहरू आगामी महाधिवेशनमा सोही पदमा दोहोरिएर उम्मेदवार बन्न सक्ने देखिएको छ। डिला सङ्ग्रौला, योगेन्द्र चौधरी, प्रकाश रसाइली, सुनिल शर्मासहितका नेताहरूले पदाधिकारीको आकाङ्क्षा राख्दै आएका छन्।

शर्माले आफू सह-महामन्त्रीको आकाङ्क्षी रहेको र उक्त पदमा नपाए महामन्त्रीको उम्मेदवार बन्ने बताउँदै आएका छन्।

कांग्रेसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा निर्वाचन हुने विधानमा व्यवस्था छ। यसैबिच कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार भेट भएको छ।

मुलुकको राजनीति थप तरल बन्दै गएका बेला देउवा निवास महाराजगन्जमा भएको दुई नेताको भेटमा प्रतिनिधिसभा पुनर्स्थापनाका साथै आसन्न राष्ट्रियसभा निर्वाचनका विषयमा पनि छलफल भएको जनाइएको छ।

पार्टीको ११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओली महासचिव शङ्कर पोखरेललाई लिएर देउवालाई भेट्न पुगेका हुन्।

प्रकाशित: ७ पुस २०८२ २१:३२ सोमबार