राजनीति

भ्रमणका लागि प्रधानमन्त्री बालेनलाई टर्कीले पठायो पत्र

क्याप्शन

प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीले औपचारिक निमन्त्रणा पत्र पठाएको छ ।  

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागिताका लागि निमन्त्रणा आएको जानकारी दिएका हुन्।

ढकालका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। परराष्ट्र मन्त्रालयमा प्राप्त उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले बताए।

“कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो,” ढकालले बैठकमा भने।

यद्यपि सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री स्वयंले गर्ने वा अन्य कुन तहबाट सहभागिता जनाइने भन्ने निर्णय भइनसकेको उनले स्पष्ट पारे। त्यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जानकारी प्राप्त हुने मन्त्रालयको प्रतीक्षा रहेको उनको भनाइ छ।

“त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौं,” उनले भने।

जलवायु न्याय र पर्वतीय मुद्दामा नेपालको जोड

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। सम्मेलनमा नेपालले आफ्ना प्रमुख जलवायु सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने तयारी गरेको छ।

विशेषगरी नेपालले जलवायु न्याय, जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति तथा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरिरहेको छ। हिमाली तथा पर्वतीय मुलुकका रूपमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर र विकसित मुलुकहरूको दायित्वलाई सम्मेलनमा प्रभावकारी रूपमा उठाउने सरकारको तयारी छ।

प्रकाशित: २७ श्रावण २०८३ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App