नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा रूपान्तरण गरेको छ। शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रम शनिबारदेखि सम्मेलनका रूपमा अघि बढाइएको हो।
सम्मेलनको दोस्रो दिन विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल गरिएको छ। बन्दसत्रमा देशभरबाट आएका करिब ३ हजार ५ सय प्रतिनिधि विभिन्न समूहमा विभाजित भएर प्रस्तुत प्रतिवेदनमाथि छलफलमा सहभागी भएका छन्।
सम्मेलनमा नेता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक तथा सामाजिक नीति सम्बन्धी प्रतिवेदन, विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, रमेश लेखक नेतृत्वको कानुन तथा विधान समितिले तयार पारेको विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीको सांगठनिक प्रतिवेदन तथा नेता एनपी साउदको समसामयिक विषयसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ।
छलफलका क्रममा अधिकांश नेताले पार्टीभित्रको एकतामा जोड दिएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार पार्टीको आगामी बाटो तय गर्नुपर्नेमा उनीहरूको जोड छ। सम्मेलनले १५औँ महाधिवेशनलाई १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आयोजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
यसअघि तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा–नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताउँदै अदालतमा मुद्दा विचाराधीन रहेकाले यस विषयमा धेरै नबोल्ने धारणा राखेका थिए।
सम्मेलनबारे जानकारी दिँदै नेता मीन विश्वकर्माले राष्ट्रिय भेलालाई राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरिएको बताए। उनका अनुसार विधान संशोधनका विषयमा पनि व्यापक छलफल भइरहेको छ। दफावार संशोधनभन्दा अहिले सैद्धान्तिक सहमतिमा जोड दिइएको उनले बताए।
‘विधानमा केही भाषागत अस्पष्टता भएका कारण कार्यान्वयनमा अप्ठ्यारो परेको छ,’ विश्वकर्माले भने, ‘सबै तहका कार्यसमितिलाई चुस्त र समावेशी बनाउने प्रयासमा छौं। युवाको सहभागिता बढाउने गरी व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएका छौं।’
अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल १५औँ महाधिवेशनको मिति नतोक्ने उनले स्पष्ट पारे। उनका अनुसार इतर समूहको मुख्य उद्देश्य आगामी महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउनु हो।
‘हामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने प्रयास गरिरहेका छौं,’ विश्वकर्माले भने, ‘मुद्दा विचाराधीन अवस्थामा रहेकाले मिति अहिले नै नतोक्ने भनेका छौं। तर सानेपामा रहेका साथीहरू कुनै चामत्कारिक निर्णय लिएर आउनुभयो भने सोहीअनुसार अघि बढ्छौं।’
इतर समूहको सम्मेलनले तत्काल नेतृत्वको टकरावभन्दा पार्टीभित्रको एकता, विधान सुधार, संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीलाई प्राथमिकतामा राखेको देखिएको छ। विशेष महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको परिणाम र संस्थापन पक्षको निर्णयपछि मात्रै आगामी राजनीतिक तथा संगठनात्मक कदम स्पष्ट हुने नेताहरूको धारणा छ।
प्रकाशित: ३० श्रावण २०८३ १९:२३ शनिबार