कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा सम्पर्कविहीन भएपछि उनको खोजीका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।
शुक्रबार दिउँसोदेखि बेपत्ता भएका सिंहको खोजीमा प्रहरी र स्थानीय बासिन्दासँगै स्निफर डगसहितको टोली खटाइएको हो।
ढकेरीमा व्यावसायिक फार्म सञ्चालनको तयारीमा रहेका सिंहले जंगलमा पुगेपछि बाटो बिराएको भन्दै शुक्रबार दिउँसो ३ बजेतिर फार्मका कामदारलाई फोन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार सिंहले कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिदा खाँ र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा समेत फोन गरी आफू जंगलमा अल्मलिएकाले बचाउन आग्रह गरेका थिए।
खोजीका क्रममा सिंहले प्रयोग गर्दै आएको लु प्र ०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार साँझ नै गोरुसिङ्गे जंगलको फायरलाइन भित्री सडकमा फेला परेको छ।
तर, मोटरसाइकलको साँचो र हेलमेट भने अझै फेला परेको छैन। सिंहको मोबाइलमा शुक्रबार राति साढे १२ बजेसम्म रिङ गइरहेकाले मोबाइल लोकेसन ट्रेसिङ कार्यसमेत जारी राखिएको एसपी भट्टले बताए।
विक्रम संवत् २०७४ देखि २०७९ सम्म कपिलवस्तु नगरपालिकाको मेयर रहेका सिंह दमका रोगी रहेको पारिवारिक स्रोतले जनाएको छ।
उनी आउँदो निर्वाचनमा पुन: मेयरको उम्मेदवार बन्ने भन्दै गाउँगाउँमा भेटघाटमा सक्रिय रहँदै आएका थिए। घटनाको राजनीतिक र आर्थिक लगायत विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गर्दै खोजी कार्यलाई तीव्रता दिन स्थानीयले माग गरेका छन्।
प्रकाशित: २३ श्रावण २०८३ १८:१७ शनिबार