संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै त्यसलाई मुलुकको आयआर्जन र सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताएका छन्।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले पर्यटन क्षेत्रलाई आर्थिक विकाससँगै सामाजिक समावेशिताको माध्यमका रूपमा अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पारे।
उनले पर्यटनलाई केवल घुमफिरसँग सीमित नराखी अनुभव र सन्तुष्टिको अर्थतन्त्रसँग जोड्नुपर्ने उल्लेख गर्दै भने, “पर्यटन भनेको खुसीको खोजमा जाने काम हो। त्यो खुसी बेचेर हामीले पर्यटनबाट आम्दानी गर्ने हो। त्यसैले बजेट समेटे पनि नसमेटिए पनि सबै सांसदहरूमा खुसीको मुस्कान रहोस् भन्ने अनुरोध गर्छु।”
मन्त्री पौडेलका अनुसार पशुपति र लुम्बिनी क्षेत्रका आफ्नै आन्तरिक कोष भएकाले ती परियोजनाहरू सम्बन्धित व्यवस्थापन प्रणालीमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ। यही कारण बजेटमा ती शीर्षकहरू छुट्टै समावेश नगरिएको उनले स्पष्ट पारे।
त्यसैगरी सरकारले देशका सबै ७७ जिल्लामा कम्तीमा एक–एक वटा दलित होमस्टे सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिँदै उनले आवश्यक बजेट सुनिश्चित गर्न थप शीर्षकअन्तर्गत पनि स्रोत विनियोजन गरिएको बताए। उनका अनुसार यो कार्यक्रमले दलित समुदायको आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणमा योगदान पुर्याउनेछ।
उनले दलित होमस्टेहरूको किचन, बाथरुमलगायत आधारभूत पूर्वाधारको स्तरोन्नति र गुणस्तर सुधारमा सरकारको प्राथमिकता रहने बताए। साथै आगामी १० वर्षसम्म सरकारी कार्यक्रमहरू यस्ता होमस्टेमा आयोजना गर्न अन्य सरकारी निकायलाई पनि प्रोत्साहन गरिने नीति लिइएको जानकारी दिए।
मन्त्री पौडेलले कर्णाली र सुदूरपश्चिमका तोकिएका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न जाने सामुदायिक विद्यालयका कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि शैक्षिक भ्रमण अनुदानको व्यवस्था गरिएको पनि बताए। उनका अनुसार यसले विभिन्न क्षेत्रका युवाबीच सामाजिक अन्तरघुलन बढाउन र देशभित्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उनले यी कार्यक्रमहरूको मुख्य उद्देश्य पर्यटनमार्फत सामाजिक समावेशिता विस्तार गर्नुका साथै तल्लो वर्ग र सीमान्तकृत समुदायसम्म प्रत्यक्ष लाभ पुर्याउनु रहेको बताए।
प्रकाशित: ३ असार २०८३ १७:२८ बुधबार