राजनीति

ओलीलाई पितृशोक पर्दा शीर्ष नेताले दु:ख व्यक्त गरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।

९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको आज बिहान निधन भएको हो।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले शोक व्यक्त गरेका छन्।

कांग्रेस सभापति गगन थापाले दुःख व्यक्त गर्दै दिवंगत आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि मोहनप्रसाद ओलीको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै उनले शोकाकुल सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीलाई भेट्न पुगेका थिए। उनले दिवंगत मोहनप्रसाद ओलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी शर्मा ओलीसहित शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

यस्तै सहसंयोजक माधवकुमार नेपालले पनि शोकको यस घडीमा दिवंगत मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पितृवियोगमा परेका केपी शर्मा ओलीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०८२ १४:०९ शुक्रबार