राजनीति

उम्मेदवारमा शीर्ष नेता एकल सिफारिस

नेपाली कांग्रेसका प्रमुख नेताहरू फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि आआफ्नो क्षेत्रबाट सर्वसहमतिबाट सिफारिस भएका छन्। पार्टी केन्द्रीय समितिको निर्णय र निर्देशनअनुुसार मंगलबार क्षेत्रीय समितिहरूले निर्वाचनमा उम्मेदवारका लागि नेताहरूको नाम सिफारिस गरेका हुन्।

प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत–१ बाट सर्वसहमतिमा सिफारिस भएको छ। गत निर्वाचनमा पनि सोही क्षेत्रबाट खड्का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै नेता डा. शेखर कोइराला मोरङ –६ बाट एकल सिफारिस भएका छन्। कोइराला पनि सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका थिए।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका छन्। शर्मा झापा –१ बाट तथा महामन्त्री थापा रोल्पा र धनकुटाबाट सिफारिस भएका हुन्। रोल्पाबाट थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम पनि सिफारिस गरिएको छ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिस भएको छ। क्षेत्रीय कार्यसमितिले राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह र नृपबहादुर ओडको नाम सिफारिस निर्णय गरेको हो। राणा यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिइन्। कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिको नाम धनुषा–३ बाट सिफारिस भएको छ।

 पर्सा–४ बाट केन्द्रीय सदस्य रमेश रिजाल र पाल्पा –१ बाट सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस गरिएको छ। गुट विवाद उम्मेदवार सिफारिसमा झल्कन पुुग्दा कांग्रेसका कतिपय क्षेत्रीय समितिहरू अनिर्णत हुन पुगेका छन्। केही क्षेत्रमा सहमतिका लागि नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

कांग्रेस केन्द्रीय समितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीका तल्लो निकायलाई प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो। केन्द्रको निर्णय अनुसार तल्लो तहका कार्यसमितिहरूले मंगलबारसम्म जिल्लालाई र जिल्लाले २५ गतेसम्म आफ्नो रायसहित प्रदेश समितिमा नाम सिफारिस गर्नुपर्नेछ।

कांग्रेसले विधानको दफा ३०, ३३ (२) तथा ६९ अनुसार योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फ बढीमा एक महिलासहित तीन र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देश गरेको छ। १० बुँदे मापदण्डसहित कांग्रेसले तल्लो तहमा उम्मेदवार सिफारिसका लागि परिपत्र गरेको थियो।

प्रकाशित: २४ मंसिर २०८२ ०८:३७ बुधबार