नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब साढे तीन वर्ष जेलजीवन बिताएर रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूलाई फसाइएको र कारागारमा रहेका ७० प्रतिशत कैदीबन्दी निर्दोष रहेको दाबी गरेका छन्।
जेलमुक्त भएपछि पहिलोपटक गृहजिल्ला अर्घाखाँची पुगेका उनले विभिन्न स्थानमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
रंगेहात फेला परेका केहीबाहेक अधिकांश निर्दोष व्यक्ति कारागारमा बस्न बाध्य रहेको रायमाझीको जिकिर छ। ‘हामीले कानुन नै त्यस्तै बनाएछौं,’ उनले भने, ‘कारागारमा ७० प्रतिशत निर्दोष कैदीबन्दी छन्।’ आफूलाई फसाइएको दाबी गर्दै उनले समयक्रमसँगै सबै कुरा खुल्दै जाने बताए।
नेकपा एमालेका निलम्बित सचिवसमेत रहेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएका उनी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
अर्घाखाँचीबाट चार पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पूर्वसांसद रायमाझीले देश र जनताको पक्षमा काम गर्न तेरो र मेरो पार्टी भन्न जरुरी नभएको बताए।
नयाँ-पुराना जसले गरे पनि देशको विकास हुनुपर्ने उनको भनाइ छ। यद्यपि, नयाँ दलको समेत लक्षण राम्रो नदेखिएको उनले दाबी गरे।
गृहजिल्ला पुगेका रायमाझीलाई अर्घाखाँची-कपिलवस्तु सिमानाको पत्थरकोट, शीतगंगाको ठाडा र सुपादेउराली परिसरमा स्वागत गर्नेहरूको लर्को लागेको थियो।
प्रकाशित: ११ मंसिर २०८३ १८:३९ शुक्रबार