राजनीति

एप्रोन लगाएर मेयर भट्टराईको अनशन स्थल पुगिन् सांसद कार्की

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले अनसनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई भेटेर ऐक्यबद्धता जनाएकी छिन्।

शुक्रबार माइतीघर मण्डलास्थित अनसनस्थल पुगेर उनले मेयर भट्टराईका मागप्रति आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताउँदै सरकारलाई तत्काल वार्ता गर्न दबाब दिएकी हुन्।

 तस्बिर: दिपेश दर्शनधारी/नागरिक

मेयर भट्टराईसँगको भेटमा डा. कार्कीले सत्याग्रहीलाई जबर्जस्ती अस्पताल लगेर अनसन तुहाउने प्रयास गर्नुको सट्टा सरकारले तत्काल वार्तामार्फत माग सम्बोधन गर्नुपर्ने बताइन्।

‘अनसन बसिरहेको व्यक्तिलाई जबर्जस्ती उठाएर अस्पतालमा लाने, अनसन तुहाउने प्रयास गर्नु हुँदैन,’ उनले भनिन्, ‘सरकारले तुरुन्तै वार्ता टोली बनाएर वा मन्त्रीज्यूहरू आफैं उपस्थित भएर सम्झौता गर्नुपर्छ र उहाँलाई खोटाङमा काम गर्न फर्काउने वातावरण मिलाउनुपर्छ।’

 तस्बिर: दिपेश दर्शनधारी/नागरिक

मेयर भट्टराईका मागहरू शहरी विकास, वन तथा वातावरण, स्वास्थ्य मन्त्रालय र सिङ्गो मन्त्रिपरिषद्‌सँग सम्बन्धित रहेको भन्दै उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरिन्।

सरकारले माग सम्बोधनमा बेवास्ता गरे राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा यो मुद्दालाई जोडदार रूपमा उठाउने उनले प्रतिबद्धता जनाइन्। ‘मेरो तर्फबाट पहल हुनेछ, मैले उठाइनँ भने पनि रास्वपाको कोही न कोहीले यो मुद्दा उठाउनेछ,’ उनले भनिन्।

 तस्बिर: दिपेश दर्शनधारी/नागरिक

खोटाङको विकाससँग सम्बन्धित सात बुँदे माग राख्दै मेयर भट्टराई बुधबारदेखि माइतीघरमा आमरण अनशनमा बसेका हुन्। अनशनका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर, उनले आफ्नो स्वास्थ्यको जिम्मा आफैं लिने कागज गरेर पुनः अनसनस्थल फर्किएका थिए।

 तस्बिर: दिपेश दर्शनधारी/नागरिक

उनका मागहरूमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ठोस कानुन निर्माण, सरकारी कार्यालयमा बाँस जस्ता स्थानीय कच्चा पदार्थ प्रयोग गर्नुपर्ने, र प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने उद्योगसँग स्थानीय तहले अतिरिक्त कर लिन पाउने व्यवस्था लगायतका विषय समावेश छन्।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १६ श्रावण २०८२ १९:४६ शुक्रबार