छ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ।
कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका हुन्।
उपचारका नाममा विदेश गएको उनी बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने छन्।
कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। उनी थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्ने छन्।
देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी छ।
प्रकाशित: २८ श्रावण २०८३ ११:१० बिहीबार