राजनीति

काम गर्नेहरू आलोचित, काम नगर्नेहरू प्रशंसित, सामाजिक सञ्जाल जिन्दावाद : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले भोटेकोशी बाढीपीडितका लागि एमालेले ३८ र नेकपाले २० वटा अस्थायी टहरा निर्माण गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत बस्नेतले यस्तो दाबी गरेका हुन्। उनले एमाले र नेकपाले स्वयंसेवक परिचालन, राहत वितरण तथा उद्धार कार्यमा सहयोग गरेको बताए। उनले दुवै दलका नेताहरू पटक–पटक बाढीपीडितको घरदैलोमा पुगेर उनीहरूको अवस्था बुझेकफ समेत बताए।

बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू भने पीडितकहाँ नपुगेको र एउटा पनि अस्थायी टहरा निर्माण नगरेको आरोप लगाएका छन्। 

उनले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको २० अर्ब रुपैयाँसमेत दसैँको मुखमा पीडितलाई उपलब्ध नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

बस्नेतले विपद्‌पीडितका लागि काम गर्ने दलहरू आलोचनाको सिकार हुने तर काम नगर्नेहरू प्रशंसित हुने अवस्था रहेको टिप्पणी गरेका छन्।

'भोटेकोशी बाढीपीडितका लागि एमालेले ३८ वटा र नेकपाले २० वटा अस्थायी टहरा बनाए। स्वयंसेवक खटाए, राहत वितरण गरे र उद्धारमा जुटे। नेताहरू पटक, पटक पीडितको घरदैलोमा पुगे,' उनले भने, 'रास्वपाका नेता न पीडितकहाँ पुगे, न एउटा टहरा बनाए! प्रधानमन्त्री राहत कोषमा जम्मा भएको २० अर्ब रुपैयाँ पनि दसैँको मुखमा पीडितलाई दिइएन। तर गालीचाहिँ पुरानै दललाई!'

प्रकाशित: ३ कार्तिक २०८३ १०:०८ मंगलबार