राजनीति

जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। मंगलबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरे।

उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको बताएका छन्। यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।

पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन्।

'नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ,' उनले लेखेका छन्।

शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेनजी आन्दोलनको वास्तविक भावनाको सम्मान हुने पोखरेलको भनाइ छ।

वर्तमान सरकार जेनजी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको उनले आरोप लगाए। महासचिव पोखरेलले नवयुवाको भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।

एमाले नवयुवाको भावना र जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पार्टी हिजो पनि नवयुवाको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि रहने दाबी गरेका छन्।

हिजो नवयुवाको भावना र माग सम्बोधनमा कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध रहेको पनि पोखरेलले उल्लेख गरेका छन्।

प्रकाशित: २३ भाद्र २०८३ ०९:३५ मंगलबार