राजनीति

‘यसपालि मन अलि दरो पार्नुस्, घण्टीको आवाज अलि चर्को हुनुपर्छ’

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा विगतभन्दा अझ सशक्त र निर्णायक नतिजा आउने बताएका छन्।

शुक्रबार चितवनमा मतदाताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकले मन दरो बनाएर घण्टीको आवाज चर्को बनाउनुपर्ने बताएका हुन्।

‘देशलाई स्थिर र स्थायी सरकार दिनका लागि नागरिकले आफ्नो कर्तव्य पूरा गर्ने बेला आएको छ’ लामिछानेले भने, ‘अब नागरिकले मन दरो गर्ने हो। यसपटकको घण्टी बजाइ अलिकति दरो, अलिकति कडा र अलि चर्को हुनुपर्छ।’

सभापति लामिछानेले प्रतिस्पर्धी दल वा उम्मेदवारलाई गालीगलौज गरेर समय खेर नफाल्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरे। उनले प्रतिस्पर्धीलाई कटाक्ष गर्नुको साटो मतपत्रबाटै जवाफ दिनुपर्नेमा जोड दिए।

‘कुनै प्रतिस्पर्धीलाई कटाक्ष गर्नुपर्ने केही जरुरत छैन। मतपत्रमा घण्टी छँदैछ, त्यहाँ भोट हाल्दिनुस्, सबै जवाफ त्यसैले दिन्छ,’ उनले भने, ‘हामीले शान्त रूपमा अगाडि बढाएको यो आन्दोलनलाई मतपत्रबाटै परिवर्तनमा बदल्ने हो।’

चितवनले फेरि एकपटक इतिहास रच्ने विश्वास व्यक्त गर्दै लामिछानेले मतदाताको विश्वासमा ठेस लाग्न नदिने बाचा दोहोर्‍याए।

‘तपाईंहरूले दिनुभएको एक-एक मत मेरो व्यक्तिगत लाभका लागि कहिल्यै प्रयोग गर्ने छैन,’ उनले प्रतिबद्धता जनाउँदै भने, ‘देशैभरिका घण्टीबाहक उम्मेदवारहरूलाई हालिएको एउटा पनि भोट खेर नजाने बाचा म पार्टी सभापतिको रूपमा गर्न चाहन्छु।’

उनले पार्टीभित्र वा बाहिर देखिने सानातिना विवाद र समस्याहरूलाई समाधान गर्दै आफूहरू जिम्मेवारी बाँडफाँड गरेर एक ढिक्का भई अघि बढेको स्पष्ट पारे।

प्रकाशित: २३ माघ २०८२ १९:१९ शुक्रबार