राजनीति

यस्तो छ सीताले संसद्‌मा सुनाएको ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला (सीता) थपलियाले कविता वाचन गरेकी छन् ।  

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

उनले देश बिर्सिएको दिन शीर्षकको कविता सुनाएकी हुन् ।  

देश बिर्सिएको दिन  

तिमीले देश बनाउँछु भन्यौ  

म ढुक्क थिएँ  

तर एकाएक  

तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

आफ्नै आमाको

अस्मितामाथि औँला उठायौ !

माटो छोएर कसम खायौ  

तर  

त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ  

अनि आमाको महिमा गाइरह्यौ  

तर सन्तान हुनुको कर्तव्य भुल्यौ  

काख र कोखको माया बिर्सियौ  !

त्यसैले आज म ढुक्क होइन  

मेरो मन देशको चिन्ताले  

ढुकढुक भैरहेको छ । ।  

स्वार्थले प्रेरित भएपछि

सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स  

तिमीमाथि असीम भरोसा बोकेर

मतको भारी बिसाउने जनतालाई नबिर्स  

जनता उभिएको माटोलाई नबिर्स  

तिमीलाई आशिष दिने  

ति बा–आमालाई नबिर्स ! ! !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने  

एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ  

र जुन दिन देश बिर्सिन्छौ  

त्यो दिन  

तिमी कस्को शासक बन्नेछौ ?

भन  

त्यो दिन तिमी  

कस्को शासक बन्नेछौ?

प्रकाशित: २८ जेष्ठ २०८३ १६:०४ बिहीबार