नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई औंसीको सरकारको संज्ञा दिँदै यसले देशमा ल्याएको अन्धकारलाई अन्त्य गर्न आफूहरूले उज्यालोको दियो बाल्नुपर्ने बताएका छन्।
तिहारको शुभकामना दिने क्रममा उनले वर्तमान राजनीतिक परिस्थितिलाई औंसीको रातसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन्।
शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले देशमा पनि औंसीकै दिन लाग्या छ, यो औंसीकै सरकार हो। यो औंसी सरकारका विरुद्ध हामीले ज्योति बाल्नैपर्दछ, बत्ती बाल्नैपर्दछ, उज्यालो पार्नैपर्दछ देशलाई।’
उनले वर्तमान सरकारको जन्म नै आगजनी, तोडफोड र लुटमारको एक भयावह स्थितिबाट भएको आरोप लगाए। ‘यो सरकार आगजनी, तोडफोड, लुटमारको एउटा भयावह स्थितिबाट जन्मिएको, संविधान र कानुनले कतै नचिनेको असंवैधानिक सरकार हो,’ ओलीले भने।
अध्यक्ष ओलीले देशलाई अन्धकारबाट बाहिर निकाल्न संविधान, लोकतन्त्र र शान्ति सुव्यवस्था पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले देशमा संविधानको रक्षा गर्न सकौँ, लोकतन्त्र पुनर्स्थापना गर्न सकौँ, शान्ति सुव्यवस्था पुनः कायम गर्न सकौँ।’
उनले सरकार जतिसुकै आक्रामक भए पनि नेकपा (एमाले) ले देशमा शान्ति र सुशासन स्थापना गरेरै छाड्ने दृढता व्यक्त गरे।
‘यस देशमा नेकपा एमाले पनि छ र लडेर यस देशलाई शान्तिपूर्ण देशमा परिणत गरेर छोड्छ,’ उनले भने। ओलीले असंवैधानिकताबाट देशलाई संवैधानिकतामा फर्काएरै छाड्ने प्रतिबद्धता जनाए।
प्रकाशित: १ कार्तिक २०८२ १६:५४ शनिबार