राजनीति

समाचार बुलेटिन होइन, सूचना प्रसार गरेको हो : प्रमुख न्यौपाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले समाचार बुलेटिन चलाएको नभई सूचना प्रसार गरेको बताएको छ।

सोमबार रास्वपा संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। पछिल्लो समय रास्वपाले सांसद रिमा विश्वकर्मासहितलाई एंकर बनाएर निरन्तर समाचार सामग्री प्रसारण गर्दै आएको छ। सोही कुरालाई लिएर आलोचना हुन थालेपछि न्यौपानेले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले लेखेका छन्, ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो-सूचना। सूचना प्रसार कसैको ‘ठेक्का’ होइन, सबैको दायित्व हो। रास्वपाको नेतृत्वमा रहेको सरकारको तथ्यसहित प्रतिरक्षा गर्नु वा उसले गरेका कामको जनस्तरमा प्रसार गराउनु रास्वपाको स्वाभाविक धर्म हो।’

प्रमुख न्यौपानेले अगाडि लेखेका छन्, ‘देशविदेशमा रहेका आफ्ना सदस्य र शुभेच्छुक, जो रास्वपाको डिजिटल सञ्जालमा जोडिएका छन्, उनीहरूलाई सूचित गराउनु पनि रास्वपाको स्वाभाविक सांगठनिक दायित्व हो। चासो र चिन्ता राख्ने सबैलाई एक-एक गरी सूचना प्रसार गर्न-गराउन सम्भव थिएन-छैन।’

उनका अनुसार रास्वपाले विपद्का बेला आफ्नै स्रोत-साधन र जनशक्ति प्रयोग गरेर सम्भव भएको प्रयास मात्रै गरेको हो, समाचार प्रसारकलाई ‘देखाउन’ खोजेको होइन। यस्तो प्रयास सही नियतका साथ जसले गर्दा पनि हुने उनको तर्क छ।

प्रकाशित: २२ भाद्र २०८३ ११:५० सोमबार