राजनीति

एमालेको सुशासनमाथि प्रश्न गर्ने ठाउँ छैन : नेता भट्टराई

फाइल तस्बिर

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्र विज्ञ डा. राजन भट्टराईले नेकपा एमाले सुशासन र जवाफदेहिताका मामिलामा अरू दलहरूको तुलनामा बढी जिम्मेवार र स्पष्ट देखिएको टिप्पणी गरेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले अनुशासन, नैतिकता र जवाफदेहिताको अभ्यास गर्दै आएको उल्लेख गर्दै यथार्थलाई तोडमोड गर्ने प्रवृत्तिप्रति आपत्ति समेत जनाएका छन्।  

डा. भट्टराईले भनेका छन्, ‘एकथरी मानिसहरू नेकपा (एमाले) को सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाइरहेका छन्, तर उनीहरूले तथ्यलाई नजरअन्दाज गर्ने बानी बसालेका छन्। बारम्बार प्रश्न दोहोर्याएर झुठलाई पनि सत्य सावित गर्न सकिन्छ कि भन्ने भ्रममा परेका देखिन्छन्।’  

उनले यथार्थको स्मरण गर्दै तथ्यका आधारमा पार्टीले चालेका पाँच कदमहरू समेत सार्वजनिक गरेका छन्। 

मन्त्री राजकुमार गुप्ताको राजीनामा, अघिल्लो कार्यकालमा मन्त्रीहरू शेरबहादुर तामाङ र गोकुल बास्कोटाको राजीनामा, केन्द्रीय सचिव टोपबहादुर रायमाझीको निलम्बन र गिरफ्तारी, कोशी प्रदेशका सांसदको निलम्बन र गिरफ्तारी, ढोरपाटन नगरपालिकाका मेयरको गिरफ्तारी, यस्ता कार्यहरू एमाले नेतृत्वले सुशासनलाई प्राथमिकता दिएको प्रमाण भएको डा. राजन भट्टराईको दाबी छ।  

डा. भट्टराईले अन्य दलहरूमा मुद्दा दर्ता भइसकेका नेताहरूसमेत सांसद पदमा यथावत् रहेर दलको शीर्ष पदमा टिकिरहनु नैतिकताको गम्भीर प्रश्न भएको जनाउँदै उनले, ‘पार्टी सभापति पदबाट राजीनामा दिने नैतिकता अरू पार्टीमा देखिँदैन, उल्टो एमालेमाथि भ्रम फैलाउने प्रवृत्ति देखिन्छ।’  

उनले ‘के गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान स्मरण गर्दै, नेकपा (एमाले) माथि गरिने निराधार आलोचना जनताले अब चिन्न थालेको विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ९ भाद्र २०८२ ११:५३ सोमबार