राजनीति

निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्छ: शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले निर्वाचन हुन नसके मुलुक गम्भीर संवैधानिक संकटमा फस्ने चेतावनी दिएका हुन्।

उनले राजनीतिक निकासका लागि लचिलो हुन आवश्यक रहेको औंल्याए। अन्तर्वार्तामा शर्माले तोकिएको मितिमा निर्वाचन नभए संविधानले परिकल्पना नगरेको संकट आउने बताए।

‘आन्दोलनको म्यान्डेट र समझदारीले ६ महिनाको समय दिएको हो। यदि चुनाव भएन भने एक किसिमको संवैधानिक संकट आउँछ,’ उनले भने, ‘राजनीति भनेको सम्भावनाको खोजी हो, अप्ठ्यारो भए पनि चुनावको बाटोबाटै निकास खोज्नुपर्छ।’

नेपालमा केही भयो कि विदेशीले गरेको वा अरूले चलाएको भन्ने भाष्य निर्माण हुनु घातक भएको शर्माको तर्क छ। उनले भने, ‘हामी अरूकै इशारामा चल्ने ‘कठपुतली’ मात्र हौं भन्ने हो भने हाम्रो नागरिक हुनुको, सार्वभौम देश हुनुको र राजनीति गर्नुको अर्थ रहँदैन। यो देश मेरो हो, म गर्न सक्छु भन्ने आत्मनिर्णयको अधिकारमा विश्वास हुनुपर्छ।’

उनले षड्यन्त्रको सिद्धान्तमा विश्वास गरेर बस्दा समाजमा नैराश्यता र हीनताबोध बढ्ने बताए।

प्रकाशित: २ पुस २०८२ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App