राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।
उनले देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गर्दै यस्तो बताएका हुन्। 'ग्यासको आपूर्तिमा कुनै समस्या छैन। देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध छ,' सामाजिक सञ्जालमा लेख्दै उनले भने।
पराजुलीका अनुसार ग्यास अभाव हुने डरले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लामो लाइन बढिरहेको छ। उनले धेरै सिलिन्डर भएका उपभोक्तालाई धैर्य गर्न आग्रह गर्दै एउटा मात्र सिलिन्डर भएका तथा ग्यास सकिएर तत्काल समस्या परेका परिवारलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले भने, 'अभाव हुने डरले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लाइन बढिरहेको छ। त्यसैले धेरै सिलिन्डर भएका उपभोक्ताले धैर्य गरौँ र एउटै सिलिन्डर भएका तथा ग्यास सकिएर तत्काल समस्या परेका परिवारलाई प्राथमिकता दिऔँ।'
उनले सम्बन्धित डिपोमार्फत उपभोक्ताको आवश्यकताका आधारमा ग्यास सहज रूपमा वितरण गर्न सकिने बताएका छन्। केही दिनमै ग्यासको आपूर्ति नियमित अवस्थाभन्दा पनि सहज हुने उनको दाबी छ।
'सम्बन्धित डिपोमार्फत आवश्यकताका आधारमा सहज रूपमा वितरण गर्न सकिन्छ। केही दिनमै आपूर्ति नियमितभन्दा अझ सहज हुने अवस्था छ,' उनले भने।
उनले ग्यास वितरणमा उपभोक्ताको आवश्यकतालाई आधार बनाएर व्यवस्थापन गर्न सके अनावश्यक भीड र लाइनसमेत घटाउन सकिने बताएका छन्। उनले भने, 'अभाव छैन, आत्तिनु पर्दैन आवश्यकता भएकालाई पहिलो प्राथमिकता दिऔँ।'
प्रकाशित: ८ भाद्र २०८३ ०९:२३ सोमबार