नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले ओली, प्रचण्ड, गगन र बालेनका शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारी र कृषि नीतिमा आधारभूत रूपमा कुनै भिन्नता नरहेको टिप्पणी गरेका छन्।
उनले नीतिमा केही मात्रात्मक फरक भए पनि आधारभूत रूपमा सबैको दृष्टिकोण समान रहेको बताएका हुन्।
'ओली, प्रचण्ड, गगन र बालेनहरूकाे शिक्षा, स्वास्थ, उद्योग, रोजगार र कृषि नीतिहरूमा अलिकति कमबेसी होला तर आधारभूत रूपमा कुनै भिन्नता छैन,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
अर्यालले गगन थापा नेतृत्वमा आए पनि नेपाली कांग्रेसका नीतिहरू शेरबहादुर देउवाको नेतृत्वकालभन्दा फरक नहुने दाबी गरेका छन्। त्यस्तै, केपी ओली र प्रचण्डलाई विस्थापित गर्न खोज्नेहरू पनि उनीहरूभन्दा खासै भिन्न नरहेको उनको भनाइ छ।
उनले पुराना र नयाँ राजनीतिक दलबीचको संघर्ष तथा पार्टीभित्रका आन्तरिक संघर्षलाई सत्ताको छिनाझपटीको संज्ञा दिएका छन्।
अर्यालले भनेका छन्, 'त्यस कारण पुराना पार्टी र नयाँ पार्टीहरूका बीचको संघर्ष होस् अथवा हरेक पार्टीहरूका आफ्ना आन्तरिक संघर्षहरू नै किन नहुन्, यी सबै सत्ताको छिनाझपटी नै हो। त्यसकारण अहिले नेपाली समाज बकवासको बहसमा केन्द्रित छ।'
उनले जनताका वास्तविक समस्या समाधान गर्न नेपालको अर्थतन्त्रको चरित्र, राजकीय प्रबन्ध, समग्र विश्वव्यवस्था र त्यसले नेपालमा पार्ने प्रभावबारे व्यापक बहस आवश्यक रहेको बताए।
यस्ता विषयमा गम्भीर छलफल प्रारम्भ नगरेसम्म जनताका समस्या समाधान हुन नसक्ने अर्यालको भनाइ छ।
प्रकाशित: १६ कार्तिक २०८३ ०९:०९ सोमबार