राजनीति

सम्मानमा सम्झौता हुँदैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनका दुवै पक्षलाई समेटेर नेतृत्वलाई पूर्णता नदिएसम्म पार्टीमा वास्तविक एकता सम्भव नहुने बताएका छन्।

बीपी स्मृति दिवसका अवसरमा संस्थापनइतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी सभापति गगनकुमार थापाले १४औँ महाधिवेशनका दुवै पक्षलाई समेट्ने पहल गर्नुपर्ने बताए। पार्टी एकताको पक्षमा आफूहरूले उठाएको आवाजलाई 'बार्गेनिङ'को संज्ञा दिनु उचित नभएको उनको भनाइ थियो।

खड्काले पार्टीमा सम्मानका लागि आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै विशेष महाधिवेशनको प्रस्ताव पार्टी विधानविपरीत रहेको टिप्पणी गरे। उनले पार्टीभित्र युवालाई अघि सारेर आफूहरू सक्रिय रूपमा अघि बढ्ने समेत बताए।

प्रकाशित: ६ श्रावण २०८३ १८:१० बुधबार