राजनीति

एमालेमा ओलीको विकल्प नै छैन: सूर्य थापा

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।  

उनले ओलीलाई बिदाई गर्ने कुरा असम्भव भएको बताए । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको विकल्प नखोजिने स्पष्ट धारणा राखे ।

‘विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन्’, उनले भने, ‘अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’

पार्टीभित्र भइरहेको ओली बिरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनले दावी गरे । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ ।’  

मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाई थियो । यसअघिको महाधिबेशनमा बिद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका भीम रावलले जम्मा दुई सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपाली महाधिवेशनमा अध्यक्षमा ओलीका विरुद्ध उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनको दावी छ ।

यस्तै, थापाले पार्टी भित्रको मौन प्रवृत्ति घातक हुने बताए । अधिकांश पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको मौनता के का लागि भन्ने स्पष्ट नभएको जनाए । एकथरिले पार्टी जोगाउनुपर्छ भनेर ‘डिफेन्स’ गरिरहेकाबेला अर्को समूहले मौनता साँध्ने प्रवृत्ति हावी भएको उनको आरोप छ ।

‘अहिले पार्टीको पक्षमा बोल्ने नेताहरु औंलामा गनिने छन्,’ उनले भने, ‘मौनयात्रीका कारण पार्टीलाई अगाडि बढाउन सहज होला ?’ यस्तो अवस्थामा पार्टीप्रति प्रतिवद्ध, क्रियाशील र सक्रिय नेतृत्व आवश्यक रहेको उनको भनाई थियो । पार्टी हित र समग्र अग्रगतिका लागि बोल्ने नेता चाहिएको उनले औंल्याए । पार्टीका पदाधिकारीमा अरुलाई कुरा बुझाउन सक्ने ल्याकत जरुरी हुने उनले जनाए । ‘मौनता साँध्नेहरु ढुंगा हुन, उनीहरु मूर्ति बनाउन काम लाग्छन्,’ उनले भने, ‘नबोल्नेलाई नेतृत्वमा ल्याउन हुँदैन ।’ उनले एमाले मुलुकको प्रमुख शक्ति भएकाले केही समूह वा नेता चौटिँदैमा कुनै फरक नपर्ने धारणा राखे ।

थापाले जेनजी आन्दोलन डिजाइनमा भएको बताए । वास्तविक जेनजीहरुले आगजनी र तोडफोड नगरेको बताउँदै सिंहदरबार र सर्वोच्च जस्ता ऐतिहासिक स्थल जलाउनेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए । आफूहरुले आवाज उठाए पछि जेनजीका नाममा अराजकता गर्नेहरु केही पक्राउ परेको उनको भनाइ छ ।

प्रकाशित: १५ मंसिर २०८२ १८:२७ सोमबार