नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको आगामी नेतृत्वमा सभापति गगनकुमार थापाको कुनै विकल्प नरहेको बताएकी छन्।
पार्टीको १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै कांग्रेसलाई बलियो, सक्षम र जनतासँग जोडिएको पार्टी निर्माण गर्नुपर्नेमा उनले जोड दिएकी हुन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति भुसालले कांग्रेसको नेतृत्वमा अहिले गगन थापा नै उपयुक्त पात्र भएको सुनाइन्।
उनले पार्टीभित्रका आन्तरिक गुट-उपगुटको अन्त्य गरी सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याइन्। ‘१५ औं महाधिवेशनको प्रमुख कार्ययोजना नै अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिनु हो,’ भुसालले भनिन्, ‘कांग्रेसको अहिलेको मुख्य जिम्मेवारी आन्तरिक समस्याहरूको निकास खोज्दै संगठन बलियो बनाउनु र पार्टीलाई पुनः जनताको पार्टीका रूपमा स्थापित गर्नु हो।’
उपसभापति भुसालले कांग्रेस आन्तरिक रूपमा सुदृढ भएमा मात्र मुलुकमा लोकतान्त्रिक मूल्यको रक्षा, राजनीतिक स्थिरता र विकासका मुद्दाहरूमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिने धारणा समेत राखिन्।
प्रकाशित: ६ आश्विन २०८३ २१:२१ मंगलबार