राजनीति

अब निर्वाचनको विकल्प छैनः उपेन्द्र यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् ।  

आज भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए। उनले भने, ‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो । जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभित रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ।’

पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने बताउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकामा जोड दिए । उनले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र सङ्घीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइपर्ने बताए ।  

पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित: २९ कार्तिक २०८२ १९:५४ शनिबार