नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।
सिङ्गो राज्य स्वतन्त्रताको उपयोग गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले देशलाई थप संकटतर्फ जान नदिन आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए। मुलुकमा कसैले बोल्नै नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको उनको दाबी छ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ अध्यक्ष ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ। यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन।’
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएको बताउँदै उनले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने ऐतिहासिक अभिभारा एमालेकै काँधमा आएको उल्लेख गरे। सही नीति र विचारका आधारमा पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढे मात्र जनतामा आकर्षण फर्काउन सकिने उनको भनाइ थियो।
गत वर्ष फागुन २१ मा भएको निर्वाचन चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको अध्यक्ष ओलीले जिकिर गरे। उनले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने दाबी गरे।
कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
महासचिव शंकर पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: ११ कार्तिक २०८३ १५:४० बुधबार