नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारीमा उठ्नेबारे सोचिनसकेको बताएका छन्। बुधबार (आज) विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै खाणले यस्तो बताएका हुन्।
आफूले हालसम्म महाअधिवेशन आयोजकको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले भने, '१५औं महाअधिवेशनका बारेमा अहिल्यै निर्णय गरिनसकेको र आफ्नो सोच महाअधिवेशन आयोजककै भूमिका निर्वाह गर्ने भएकाले पदाधिकारीमा उठ्ने विषयमा कुनै सोच बनाएको छैन।’
खाणले विगतमा सभापति निकट रहेको र अब धार परिवर्तन गरेर कोइराला पक्षमा लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा आफूले पार्टीमा कुनै धार परिवर्तन नगरेको दाबी गरेका छन्। खाणले कोइराला निवास पार्टीभित्रको कुनै गुटको थलो नभएको र यो थलो सबै कांग्रेसीहरूको पवित्र भूमि भएको पनि बताए।
कृष्णप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाको भूमि भएकाले विराटनगरको कोइराला निवासको खास महत्त्व रहेको उनको भनाइ छ। ‘तीर्थस्थल भनेजस्तै कांग्रेसीहरूका लागि विराटनगरको कोइराला निवास पनि त्यस्तै पवित्र स्थल भएकाले निवासमा आएको हुँ,’ उनले भनेका छन्।
आगामी महाअधिवेशनमा कसलाई सहयोग गर्ने ? भन्ने पत्रकारको प्रश्नमा खाणले त्यस बारेमा पनि अहिल्यै निर्णय नगरेको बताए। उनले महाअधिवेशनका बेला नेताहरूको अजेन्डा हेरेर मात्रै आफूले निर्णय लिने बताए।
उनले कांग्रेसको महाअधिवेशन विगतमा जस्तै ५ वर्षभित्रै हुने दाबी पनि गरे। 'विगतमा पनि समय थप गरेर ५ वर्ष भित्र महाअधिवेशन गरिएको हो। आगामी महाअधिवेशन पनि त्यसैगरी हुनेछ,' उनले भने। खाणले पार्टीले निर्वाचनमा असहयोग गरेका नेताहरूलाई कारबाही गरेको विषयमा अनुशासन समितिले नै स्पष्ट पार्नुपर्ने बताए। 'पार्टीले नेताहरूलाई कारबाही गरेको विषयमा एक पक्षीय भयो भन्ने प्रश्न उब्जिएको छ। त्यो स्वभाविक हो। त्यसका विषयमा अनुशासन समितिले नै स्पष्ट पार्नुपर्छ।’
खाणले अहिलेको सरकारको नेतृत्वलाई आफूहरूको पूर्ण समर्थन र सहयोग रहेको पनि बताए। उनले सत्ता साझेदार दल भएकाले सरकारलाई पूर्ण समर्थन र सहयोग रहने स्पष्ट पारे। उनले कांग्रेस एमालेको गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबी पनि गरे। नेता खाण विराटनगरस्थित कोइराला निवासमा आउँदा डा. शेखर कोइराला पक्षका नेता कार्यकर्ताहरू निवासमा पुगेका थिए।
प्रकाशित: ३२ असार २०८२ १४:१२ बुधबार