नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन-जी युवाहरुको पवित्र आन्दोलनमा ठूलो घुसपैठ भएको बताएका छन्।
उनले धेरै लामो समयदेखिको तयारी र हजारौं मानिसहरुको प्रयोग गरेर देश ध्वस्त पार्ने नियतकासाथ भदौ २४ गते घटना भएको बताए।
‘जेन-जी युवाहरुले पवित्र उद्देश्यसाथ सुरु गरेको आन्दोलनमा घुसपैठ गरेर देश ध्वस्त बनाउन धेरै लामो समयदेखि तयारी गरिरहेकाहरुले हजारौं मानिसहरुको प्रयोग गरेर चार घण्टामा सिंगो देश जलाइयो,’ बिहीबार सुर्खेतस्थित जलेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले भने, ‘इतिहासमा कहिल्यै व्यहोर्नु नपरेको ध्वंश यो पटक देशले व्यहोर्न पर्यो।’
चार घण्टाको अवधिमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, व्यवसायिक प्रतिष्ठानहरु, नेता र तिनका आफन्तका घरहरु जलाइएको बताए। उनले देश डरलाग्दो डिजाइनभित्र परेको बताउँदै सबै सचेत हुनुपर्ने बताए।
उपसभापति खड्काले सरकारले बनाएको छानविन आयोगले आन्दोलनको सुरुवात, भएको घुसपैठ, जलाइएका संरचनालगायतका विषयलाई जनताको माझमा ल्याउनुपर्ने बताए।
आक्रमणको प्रकृति र शैली राजधानी र राजधानीबाहिर लगभग सबै प्रकारको रहेको उनको भनाई छ। ‘ध्वस्त भएका धेरै संरचनाहरुको निरीक्षण गर्दा आन्दोलनमा विष्फोटक पदार्थ, केमिकल, बमहरु प्रयोग गरिएको पाइयो,’ उनले भने, ‘यो गम्भीर विषय हो।’
उनले नेपालको क्रान्तिको इतिहास बोकेको कोइराला निवास, पञ्चायत फाल्ने नेतृत्व गरेका गणेशमान सिंहको निवास, जीवनभर सिंगो नेपाली आफ्नो परिवार भनेर नैतिक राजनीति गर्नु भएका सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम ध्वस्त पारिनुलाई सामान्यरुपमा लिन नसकिने बताए।
‘कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, पार्टी कार्यालय ध्वस्त पार्ने, व्यक्तिका सम्पत्ति ध्वस्त पार्ने उद्देश्य जेन-जीको थिएन्,’ उनले भने, ‘जेन-जीको आन्दोलनमा लुटेराहरु छिरे, देशलाई स्वस्त पार्ने डिजाइनकर्ताका एजेण्डहरु छिरे, भीडभित्र उत्तेजना फैलाएर देश ध्वस्त पार्ने कामहरु भयो।’
उपसभापति खड्काले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले चुनावमा भाग नलिने भन्ने प्रश्नै नरहेको बताए। ‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले कुनै पनि चुनावमा भाग नलिने भन्ने प्रश्नै आउँदैन्,’ उनले भने, ‘तर सरकार बन्दैछ, मन्त्रीमण्डलले पूर्णता पाउनै बाँकी छ, चुनावको वातावरण सरकारले कसरी बनाउँछ भनेर हामीले नजिकसम्म हेरिरहेका छौं।’
उनले घटना भएको यतिका समयसम्म देश जलाउनेहरुलाई पक्राउ गर्ने, छानविन गर्नेलगायतका काम पनि प्रारम्भ नगरेको भन्दै असन्तुष्टी जनाए।
‘जेन-जीको आन्दोलनमा घुसपैठ गर्नेहरुको खोजी गर्ने, टुलिएका धनसम्पत्तिको खोजी गर्ने काम अझै सरकारले गरेको छैन्,’ उनले भने, ‘अहिलेसम्म यो सरकार त्यसमा प्रवेशनै गरेको छैन्।’
प्रकाशित: ९ आश्विन २०८२ १५:५६ बिहीबार