राजनीति

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् : बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भट्टराईले यस्तो बताएका हुन्। उनले जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका गल्ती नदोहोर्‍याई नयाँ इतिहास निर्माण गर्नुपर्ने सुझाव समेत दिए। 'जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्‍याओस्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,' उनले भनेका छन्।

उनले सरकार र पार्टीबीचको अन्तरद्वन्द्वले विगतमा नेपाली राजनीति, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्‍याएको स्मरण गराउँदै इतिहासका गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्।

भट्टराईले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी र मातृका समूहबीच देखिएको संघर्षदेखि २०४७ पछिका कांग्रेसका ७४ र ३६ सांसद समूह तथा २०५८ पछिको गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको विवादलाई स्मरण गरेका छन्।

त्यस्तै, २०५२ पछि एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधी समूह तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तर्संघर्ष र फुटले देशलाई ठूलो नोक्सान पुर्‍याएको उनको भनाइ छ।

भट्टराईले इतिहासबाट पाठ सिक्न आग्रह गर्दै लेखेका छन्, 'इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्।'

प्रकाशित: २० कार्तिक २०८३ ०९:४१ शुक्रबार