राजनीति

विधान महाधिवेशनमा विद्या समूहले ‘गुट बनाएर’ फरक मत नराख्ने

नेकपा एमालेको विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारी समूहले ‘गुट बनाएर’ फरक मत नराख्ने भएको छ। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै विद्या समूहमा खुलेका उपाध्यक्ष युवराज ज्ञवालीले यस्तो बताएका हुन्। 

‘डकुमेन्टको कुरामा एउटा फरक प्रकारको समूह बनाएर यी यी कुरा हाम्रा फरक छन् भन्ने एउटा अभ्यास छ,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘तर त्यस्तो तरिका अहिले आवश्यक छैन । आफू आफूलाई लागेका कुरा, युवराज ज्ञवालीलाई लागेको छ आफ्नो तरिकाले विचार प्रस्तुत गर्ने।’ मुख्य प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीबाटै आउने र त्यसमा के कति कमजोरी छन् त्यसबारे एक्ला एक्लै कुरा राखिने उनले बताए। ‘अब पूर्व राष्ट्रपति राजनीतिमा आउन मिल्छ मिल्दैन नयाँ कुरा आइराख्या छ, यी यस्ता कुरा कसलाई केके लाग्या छ त्यहाँ खुलस्त रूपमा भन्नुपर्छ र कसरी समाधान गर्ने भन्ने ढंगले सबै प्रतिनिधि आआफ्नो ढंगले प्रस्तुत गर्ने कुरा छ,’ उपाध्यक्ष ज्ञवालीले भने।

‘यो छुट्टै ब्लक अथवा समूहका रूपमा छुट्टै दस्ताबेजका रूपमा भन्दा पनि कति कुरा मिल्लान्, कति नमिल्ला,’ उनले भने, ‘गुट बनाएर एउटा प्रक्रिया होला, गुट नबनाइकन आआफ्ना विचारहरू दिने त्यसो गर्दा कतिपय कुरा मिल्न पनि सक्छन्।’

महाधिवेशनले जे फैसला गर्छ त्यो नै एमालेको नीति र विधि हुने उनले बताए। यद्यपि ११ औँ महाधिवेशनले आवश्यक ठानेमा नीति र विधि महाधिवेशनले तय गरेका विषय परिमार्जन गर्न सक्ने उनले बताए। 

प्रकाशित: १८ भाद्र २०८२ २०:१६ बुधबार