राजनीति

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः कोइराला

नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छन्।

महाराजगञ्ज-चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. कोइरालाले भने, ‘यो हाम्रा लागि परीक्षाको समय पनि हो, यो अधिवेशनलाई त्यसैले हामीले अत्यन्त महत्वपूर्ण रुपमा लिएका छौं र हामी सबै मिलेर सँगै अघि बढौं भन्ने पनि चाहेका छौं।’

यही असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने कार्यतालिकासहित नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा इतर समूहले पत्रकार सम्मेलन गरी संस्थापन पक्षीय महाधिवेशनमा सहभागी नभई कांग्रेसकै नाममा अलग्गै महाधिवेशनमा जाने बताएको हो। कांग्रेस पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेतासमेत सो समूहमा आबद्ध छन्।

पार्टीको मङ्सिरमा हुने १५औं महाधिवेशनमा आफूहरू नयाँ जोश र जाँगरका साथ जान लागेको बताउँदै संयोजक डा. कोइरालाले भने, ‘हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौं, हामी के चाहन्छौं भने सबै साथै हिडौं। सबै सँगै हिडौं।’

उनले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक र बलियो विचार भएको पार्टी भएको बताए। प्रजातान्त्रिक आन्दोलनको पक्षमा सदैव उभिँदै आएको पुरानो पार्टीका रुपमा स्थापित कांग्रेस अब नयाँ सोच र जोशका साथ अघि बढ्ने उनले सुनाए।

संयोजक डा. कोइरालाले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए। सो अवसरमा नेपाली कांग्रेसका पूर्वप्रवक्ता एवं इतर समूहका नेता डा. प्रकाशशरण महतले केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा हुने जानकारी दिए।

उनका अनुसार वडा तहको अधिवेशन यही असोज १५ गतेदेखि सुरु हुने कार्यतालिका रहेको छ।

प्रकाशित: १० आश्विन २०८३ १९:२० शनिबार