राजनीति

नेता आउँदा माला र खादा लिएर विमानस्थल जाने प्रवृत्ति बदल्नुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता आउँदा विमानस्थलमा लाइन लागेर स्वागत गर्ने, खादा र माला लिएर जाने प्रवृत्ति बदल्नुपर्ने बताएका छन्। पार्टीभित्रको कार्यशैली र नेताहरूको जनतासँगको सम्बन्धमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले नेताहरू सर्वसाधारणले सहजै भेट्न, आफ्ना कुरा सुनाउन र संवाद गर्न सक्ने अवस्थामा हुनुपर्ने बताएका हुन्। 

थापाले आफूले यससम्बन्धी निर्देशिका बनाएर पठाएको उल्लेख गर्दै मुख्यमन्त्रीहरूलाई पनि विमानस्थलमा नेताको स्वागतका नाममा हुने तामझाम र भीडभाडको अभ्यास छाड्न आग्रह गरे। नेता आउँदा स्वागतका लागि मानिसहरू लाइन लाग्ने, माला र खादा लिएर जाने तथा गाडीमा चढेर हिँड्ने प्रवृत्तिले जनतामा गलत सन्देश जाने उनको भनाइ छ।  

‘सानासाना कुरा हुन्, तर यसलाई बदल्नुपर्ने छ हामीले,’ थापाले भनेका छन्। 

नेताहरूलाई सर्वसाधारणबाट अलग राख्ने र भेट्न आउने मानिसलाई समेत टाढा पुर्‍याउने प्रवृत्तिको आलोचना गर्दै उनले पार्टीका नेता जनताकै बीचमा भेटिने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

‘हामीलाई वातावरणमा मान्छेले भेट्न पाउनुपर्‍यो, हेर्न पाउनुपर्‍यो, सुन्न पाउनुपर्‍यो। हामीले पनि उनीहरूको कुरा सुन्नुपर्‍यो,’ थापाले भने। 

उनले पार्टीभित्र काम गर्ने तरिका, सोच्ने तरिका र हिँड्ने शैलीमै परिवर्तन आवश्यक रहेको बताए। जनताले नेताको व्यवहार र कार्यशैलीबाट परिवर्तनको अनुभूति गर्नुपर्ने उनको जोड छ। 

सभापतिका रूपमा आफ्नो चारवर्षे कार्यकाललाई नयाँ अध्यायको सुरुआतका रूपमा लिएको उल्लेख गर्दै थापाले पार्टीलाई इमानदारीपूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

नेपाली कांग्रेसको नेतृत्व गर्नु पार्टीलाई मात्रै सम्हाल्ने विषय नभई नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समेत अघि बढाउने जिम्मेवारी भएको उनले बताए।  

प्रकाशित: १० कार्तिक २०८३ १४:४५ मंगलबार