राजनीति

कुलमान भन्छन्- अब बत्तीको मात्रै होइन, समृद्धिको उज्यालो

नागरिक अभिनन्दनका क्रममा कुलमान घिसिङ। तस्बिर: उज्यालो नेपाल टिम।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै 'समृद्धिको उज्यालो' आवश्यक रहेको बताएका छन्। बुधबार (आज) इटहरीमा आयोजित नागरिक अभिन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिसिङले अबको आवश्यकता समृद्धिको उज्यालो भएको औँल्याए।

त्यसकै लागि आफूहरूले ‘उज्यालो नेपाल’ अभियान सञ्चालन गरेको पनि घिसिङले बताए। अभियानमा सबै जोडिएर अगाडि बढ्नका लागि पनि उनले आह्वान गरेका छन्। ‘हामीले उज्यालो नेपाल भनेर एउटा अभियान बहराइनबाट सुरु गरेका छौँ। अब बत्तीको मात्रै उज्यालो होइन, समृद्धिको उज्यालो हो। अब नेपाल विकास हुँदैन भन्ने होइन, सम्भावनहरू छन्, रोजगारी चाहिँ क्रियट गर्न सक्नुपर्छ। देशिभत्रै धेरै सम्भवानाहरू छन्। समृद्धिका विषयहरू अगाडि बढाउन सकिन्छ भनेर अभियान घोषणा गरेका छौँ। समृद्ध नेपाल बनाउने नै हाम्रो अभियान हो। यसमा हामी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’घिसिङले आह्वान गरे।

नागरिक अभिनन्दनपछि कुलमान घिसिङ। तस्बिर: उज्यालो नेपाल टिम।

उनले उज्यालो नेपाल अभियान प्रेसर क्रियट गर्ने र राम्रो नेतृत्व जन्माउनका लागि प्रेरणा दिने संस्था पनि भएको जिकिर गरे। तर, त्यसका लागि टिमको आवश्यकता पर्ने भन्दै उनले जोडिनका लागि आह्वान गरेका छन्। 'उज्यालो नेपाल सबै पार्टीहरूमा राम्रा मान्छेले नेतृत्व गरून् भनेर पनि चाहन्छ,' उनले भने।

घिसिङले आगामी यात्राबारे तीव्रत्तर छलफल जारी राखेको पनि उनले बताएका छन्। त्यसका लागि आफूले सबैसँग छलफल गरिरहेको उनले बताएका छन्। 'आगामी यात्रा कसरी अगाडि बढाउने भन्नेबारे छलफल तीव्र रूपमा अगाडि बढाएको छु,' उनले भने।

कार्यक्रममा कुलमान घिसिङ। तस्बिर: उज्यालो नेपाल टिम।

सल्लाह, सुझाव र सद्भाव लिनका लागि आफू विदेशसमेत गएको उनले जानकारी दिए। 'बहराइन, ओमन, यूएई र कतारको यात्रा गरेर यहाँ आइपुगेको छु। त्यहाँ मैले अर्को नेपाल देखेको छु। ऊर्जाशील युवाहरूले त्यहाँ आफ्नो कर्म उपयोग गरिरहनुभएको छ। त्यहाँको विकास निर्माणको अवस्था हेर्ने हो भने अहिले यति धेरै सम्पन्नतातिर अगाडि बढेको छ, युवा शक्तिहरूले त्यहाँ ठूलो योगदान पुर्‍याएका छन्,’ उनले भने, 'म सबै दिदीबहिनी दाजुभाइहरूबाट सल्लाह सुझाव लिइरहेको छु।'

घिसिङ यसबीचमा बहराइन, ओमन, यूएई र कतारको भ्रमण गरेर फर्किएका छन्। त्यहाँ उनले त्यहाँस्थित नेपाली समुदाय र कामदारसँग अन्तरक्रियासमेत गरेका थिए। २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी पदबाट बर्खास्तमा परेका उनले पछिल्लो समयका आफ्ना अभिव्यक्तिमार्फत राजनीतिमा आउने छनक दिइरहेका छन्।

प्रकाशित: ३२ असार २०८२ २१:५९ बुधबार

#NagarikNews #kulmanghising