राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एउटा समूहले शान्तिपूर्ण प्रदर्शनलाई कब्जा गरेको निष्कर्ष निकालेको छ।
आयोगको प्रतिवेदनअनुसार ‘टीओबी’ नामको बाइकर समूहले आन्दोलनकारी विद्यार्थीहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै संघीय संसद् भवनमा आक्रमण र आगजनीको प्रयास गरेको थियो।
प्रतिवेदनअनुसार भदौ २३ गते दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेका बेला अचानक एउटा समूहको प्रवेशले स्थिति भयावह बनाएको थियो।
प्रतिवेदनमा उल्लेख भएअनुसार, आन्दोलन उग्र बन्दै जाँदा ‘टीओबी’ लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपहरू देखा परेका थिए। सोही समूहले शान्तिपूर्ण रूपमा उभिएका प्रदर्शनकारीलाई अगाडि बढ्न उत्तेजित बनाएको थियो।
आयोगले आन्दोलनलाई विध्वंसात्मक बनाउने योजना बुनेको उक्त समूहले नवयुवा र विद्यार्थीहरूलाई सुरक्षाकर्मीसँग बच्नका लागि सुरक्षा कवचको रूपमा प्रयोग गरेको ठहर गरेको छ।
प्रतिवेदनमा भनिएको छ, ‘विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयुवाको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा विद्यार्थीलाई ढाल बनाई सुरक्षाकर्मीहरू माथि नै ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयास समेत गरी धन जनको क्षति पुर्याएको स्पष्ट हुन आयो।’
आयोगका अनुसार यो समूहले योजनाबद्ध रूपमा संसद् भवनभित्र पस्ने र आगजनी गर्ने प्रयास गरेको थियो। उनीहरूको घुसपैठ र उत्तेजनाका कारण स्थिति नियन्त्रण बाहिर जाँदा राष्ट्रिय मानव अधिकार आयोगको सवारी साधन, एम्बुलेन्स र अन्य सरकारी कार्यालयका गाडीहरूमा समेत तोडफोड र आगजनी गरिएको थियो।
आयोगले यो समूहको वास्तविक पहिचान र उनीहरूको आयोजकसँगको सम्बन्धबारे थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।
‘टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका ती १५/२० जनाको बाइकर ग्रुपका व्यक्तिहरूको पहिचान, निजहरूको आयोजकहरूसँगको कस्तो सम्बन्ध रहेको छ ? उनीहरू कसैबाट सञ्चालित हुन् कि होइनन् ?’ भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पुग्न आयोगले सिफारिस गरेको छ।
आन्दोलनलाई हिंसात्मक दिशामा मोड्न र निर्दोष विद्यार्थीलाई ढाल बनाएर राज्यका प्रमुख अंगहरूमाथि प्रहार गर्न यो समूहले मुख्य भूमिका खेलेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १७:५२ बुधबार