प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भिड उरालेर न्यायको हत्या गरी अभियोगमुक्त हुन खोज्ने अनुचित प्रवृत्ति हाबी हुन खोजेको बताएका छन्। प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्ने सयौं जनामाथि न्यायालयमा मुद्दा चलिरहेको अवस्थामा एउटा व्यक्तिमाथि मात्रै राज्यले राजनीतिक प्रतिशोध राखेको भन्नु नाजायज रहेको पनि बताए।
प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै भने, ‘लाखौं जनताले सहकारीमा राखेको बचत रकम हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरूलाई अदालतले थुनामा पठाएको छ। तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ।’
एउटा व्यक्तिमाथि प्रतिशोध साँधिएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो त भन्ने प्रश्न गर्दै उनले भने, ‘अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौंमध्ये कुनकुन व्यक्तिमाथि प्रतिशोध भएको हो? कुनकुन व्यक्तिमाथिको थुना जायज हो? रविलाई प्रतिशोध साँधिएको हो भने अरूलाई के गरेको भन्ने? सत्तापक्षका मानिस पनि थुनिएको सरकारले भनेरै हो त?’
सहकारी ठगी प्रकरणमा पुर्पक्ष थुनामा रहेका लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध राखेको भन्ने आरोप र भिजिट भिसा प्रकरणमा भइरहेको संसद् अवरोधबाट प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन्। उनले रास्वपाले ‘इमोसनल ब्ल्याकमेलिङ’मार्फत आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप पनि लगाए।
उनले रास्वपा सभापति लामिछाने र सांसद सुमना श्रेष्ठतर्फ इंगित गर्दै भने, ‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई बेचिएको भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्। यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ।
’प्रधानमन्त्री ओलीले ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरू’सँग समयले यसको जवाफ माग्ने बताए। उनले भने, ‘यस्ताका पछाडि लागेर दौड्ने भिड अचम्मको मात्र होइन, दयालाग्दो पनि छ।’
यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने पनि ओलीले बताए।
‘स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकारअनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले भने, ‘संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरूलाई पेसेवर मास म्यानुपुलेसनको आक्रमणबाट बचाउनुपर्छ। लोकतान्त्रिक शक्तिहरूले यो काम गर्नैपर्छ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विपक्षी दलहरू स्थिरताप्रति अप्रिय बनेको बताए। ‘हाल विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो?’ ओलीको प्रश्न थियो, ‘प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ। त्यसमाथि अन्य दलहरू समेत यो सरकारमा सामेल छन्।’
सरकार संसद्को गणितले बन्ने हो भन्दै उनले माओवादी केन्द्रप्रति लक्षित गर्दै भने, ‘बलियो संसदीय गणितमा उभिएको सरकार आज नै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहने, अनि नढलेपछि त्यति रुचि छैन् यो सरकारतिर हाम्रो भन्न पनि भ्याइहाल्ने।’
ओलीले २०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि जाने दाबी गर्दै भने, ‘यस्तो अस्थिरताको पक्षपोषण केका लागि? देशका लागि त यो पक्कै होइन। म भन्न चाहन्छु अस्थिरताको जतिसुकै चाहना राखे पनि २०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ। त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं।’
प्रकाशित: २९ श्रावण २०८२ ०६:४८ बिहीबार