राजनीति

‘रास्वपाको लहर होइन, जनताले परिवर्तनको पक्षमा भोट हाले’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई केवल लहर वा सुनामी रुपमा मात्र व्याख्या गर्नु गलत हुने बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै संरक्षक चौधरीले भने, ‘जनताले परिवर्तनको पक्षमा भोट हालेका हुन्, यो कुनै सुनामी वा लहर होइन। यो त नयाँ शक्तिप्रति जनताले देखाएको भरोसा र विश्वास हो।’

उनले अब मुलुकलाई सुशासन र समृद्धितर्फ लैजाने जिम्मेवारी नयाँ शक्तिहरूको काँधमा आएको उल्लेख गरे।

आफ्नो पार्टीले प्रतिनिधिसभामा सिट नजितेको विषयमा बोल्दै उनले सिट संख्याकै आधारमा मात्र दलको अस्तित्व समाप्त नहुने दाबी गरे।

‘राजनीतिमा एकजना प्रतिनिधि नजित्दैमा कुनै पनि दल शून्य हुँदैन,’ चौधरीले भने, ‘हामीसँग अहिले संसद्‌मा प्रतिनिधि नभए पनि मैदानमा हजारौं पहरेदारहरू छन्। पहिचानको मुद्दा बोकेर हाम्रो यात्रा निरन्तर अगाडि बढिरहनेछ।’

उनले नागरिक उन्मुक्ति पार्टीले जनभावना अनुसार सुशासन र समृद्धिका मुद्दामा काम गर्ने र आफ्नो अस्तित्वलाई थप मजबुत बनाउने बताए।

प्रकाशित: २ चैत्र २०८२ १५:४६ सोमबार