राजनीति

विपद्को बेला राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवाको विनाशकारी बाढीपछि देश विपत्तिमा परेकाले राज्यले नागरिकको अभिभावकत्व निर्वाह गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत पौडेलले संवेदनशील घडीमा नागरिकले राज्यको अभिभावकत्व खोजिरहेको भए पनि विपद्ग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको बताएका हुन्।

उनले सामाजिक सञ्जालमा सरकारको सक्रियता र दाबी देखिए पनि वास्तविक प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको अवस्था कमजोर रहेको आरोप लगाए। 

‘सामाजिक सञ्जालका पोस्टहरूमा सरकारको जति सक्रियता र दाबी देखिन्छ, वास्तविक जमिनमा उद्धार, राहत र व्यवस्थापनको अवस्था त्यति नै कमजोर छ,’ पौडेलले भनेका छन्। 

विशेषगरी सुरुङमार्ग र जटिल भूभागमा फसेका नागरिकको उद्धारमा सरकारले ‘एक्लै सबै गर्छु’ भन्ने अहम् राखेर बाह्य विशेषज्ञको सहयोग लिन ढिलाइ गरेको विषयलाई उनले गम्भीर भूलका रहेको बताएका छन्। प्रधानमन्त्रीले समेत उद्धारमा ढिलाइ भएको स्वीकार गर्दै विभिन्न देशका विज्ञ टोलीसँग समन्वय भइरहेको भनेसँगै समयमै विज्ञ टोली बोलाउन तत्परता देखाइएको भए उद्धारमा  ढिलाइ नहुने उनको भनाइ छ।  

उनले विपद्पछिको व्यवस्थापनमा समेत राज्य संयन्त्र दिशाहीन देखिएको र उपलब्ध सीमित स्रोतसाधनको समेत प्रभावकारी उपयोग हुन नसकेको भन्दै सहज स्थानमा मात्रै सरकारको बाक्लो उपस्थिति देखिएको बताए। 

‘विपद्पछिको व्यवस्थापनमा राज्य संयन्त्र अत्यन्तै दिशाहीन देखिएको छ। भएको सीमित स्रोतसाधनको समेत सदुपयोग हुन सकेको छैन,’ उनले भनेका छन्। 

उनले सरकारलाई अहम् र प्रचारबाजी त्यागेर तत्काल उद्धार, राहत, घाइतेको शीघ्र उपचार तथा विस्थापितहरूको उचित व्यवस्थापनमा केन्द्रित हुन सुझाव दिएका छन्। 

‘यस्तो अहम् र प्रचारबाजी त्यागेर अत्यन्तै संवेदनशील भई तत्काल उद्धार, राहत, घाइतेको शीघ्र उपचार र विस्थापितहरूको उचित व्यवस्थापनमा केन्द्रित हुन सरकारलाई सचेत गराउन चाहन्छु,’ पौडेलले भनेका छन्।  

प्रकाशित: १७ भाद्र २०८३ १६:४८ बुधबार