नेपाली कांग्रेसको एक महिनायता जारी केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ। असोज २८ गते सुरु भएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोलेका थिए। भदौ २३ को हिंसा र २४ को विध्वंसपछि पहिलोपटक सार्वजनिक भएका कांग्रेस सभापति देउवाले स्वास्थ्यका कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
फेरिएको परिस्थितिअनुसार पार्टीले लिने नीतिका विषयमा छलफल गर्न बसेको बैठकमा कांग्रेस एक महिनादेखि १५औं महाधिवेशन फागुन २१ का लागि तोकिएको निर्वाचनअघि वा पछि गर्ने भन्ने प्राविधिक विषयमा अलमलिन पुगेको छ। सुरुदेखि बिहीबारसम्मको बैठकमा नेताहरूले सोही विषयमा केन्द्रित भएर आआफ्ना धारणा राखेका छन्।
मुख्यभन्दा अन्य विषयमा छलफल केन्द्रित गरेको कांग्रेसले यसबिचमा सहमतिका लागि भन्दै पटकपटक बैठक स्थगित गरेर छलफलमा जुटेका थिए तर अहिलेसम्म सहमतिको साझा सहमतिमा पुग्न नसकेको कांग्रेसले निर्णयमा पुग्नका लागि थप एक दिन समय लिएको छ। उपसभापति धनराज गुरुङसम्मले बिहीबारसम्ममा आफ्नो धारणा राख्ने क्रम सकिएको छ।
कांग्रेसले अर्को बैठक शनिबार दुई बजेका लागि बोलाएको छ। उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका सभापति देउवा शुक्रबार स्वदेश फर्कने तयारी रहेको निकट स्रोतको दाबी छ। देउवासँगको परामर्शमा नै कांग्रेसले पार्टीको १५औं महाधिवेशनको मितिदेखि सरकारले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनसहितका विषयमा धारणा बनाउने नेताहरूले जनाएका छन्।
निर्वाचनका पक्षमा केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्दै आए पनि कांग्रेसका नेताहरू विघटित संसद् पुनस्र्थापनाका पक्षमा भित्रभित्रै अन्य दलहरूसँग छलफल गरिरहेका छन्। महाधिवेशन कहिले गर्ने भन्नेमा सभापति देउवानिकट नेताहरू निर्वाचनपछि गर्ने पक्षमा देखिएका छन् भने शेखर कोइरालासहितका नेताहरू विशेष महाधिवेशन वा चुनावपछि महाविधेशन दुवैको पक्षमा छैनन्। उनीहरू पुस अन्तिमसम्म नियमित महाधिवेशनको पक्षमा छन्। नेताहरूबिच सहमतिको साझा समझदारीमा नपुगे शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक अझै केही दिन सर्न पनि सक्ने निकट स्रोतको दाबी छ।
बिहीबारको बैठकमा सबैभन्दा धेरै आलोचना खेपेका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको बहुमतको निर्णयलाई मान्दै अघि बढ्नु नै आफ्नो ठूलो गल्ती भएको बताए। निर्वाचनअघि गठबन्धन गर्नेसहितका यावत् विषयमा आफूले फरक मत राखे पनि बहुमतको निर्णयलाई मानेको बताउँदै थापाले बैठकमा भने, ‘मैले गल्ती गरेकै हो। मैले यस्तो हुन्छ भनें तर बहुमतको निर्णय मानें। मैले त्यतिबेला घुँडा धसेर मान्नु हुँदैनथ्यो।’
सभापति देउवालाई हराउन दुईपटक लागेको स्मरण गराउँदै थापाले भने, ‘उहाँलाई बिदा गर्ने कोसिस गरें, सकिनँ। मेरा सीमा थिए। मैले जति भत्काउनुपर्ने थियो सकिनँ, नसकेकै हो। ती मेरा कमजोरी रहे।’
बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन नगरिए विशेष महाधिवेशन गर्नैपर्ने वैधानिक बाध्यता रहेको बताए। पार्टीको नियमित महाधिवेशन पुसमा कि वैशाखमा भन्ने मूल प्रश्न नभएको जनाउँदै शर्माले ४८ बुँदे धारणा राख्दै भने, ‘तर विशेष महाधिवेशनको मागसहित लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) मा स्पष्ट व्यवस्था छ। त्योचाहिँ बाध्यात्मक छ।’
पुस १६ देखि १९ सम्म १५औं महाधिवेशन गर्नु नै पहिलो र उपयुक्त विकल्प भएको धारणा राख्दै शर्माले भने, ‘पुसको अन्तिम साता जुनसुकै मितिमा पनि महाधिवेशन गर्न सकिने छ।’
महाधिवेशन आयोजना गर्दा आमनिर्वाचनमा असर पर्दछ भन्ने नेताहरूको धारणामा आफ्नो सम्मान रहेको शर्माले बताए। पार्टी अहिले सुतेको अवस्थामा रहेको जनाउँदै उनले भने, ‘सुतिरहेको पार्टी लिएर भन्दा अधिवेशन र विविध अभियानमार्फत जुर्मुराएको पार्टी लिएर चुनावमा जाँदा त्यसले फागुन २१ को निर्वाचनमा सकारात्मक बल पुग्ने छ।’
अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नभएको जिकिर गर्दै शर्माले मनस्थिति र परिस्थिति बदलिएकाले सोहीअनुसार सोच्नुपर्ने तर्क गरे।
बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएर महामन्त्रीले देशभरका पार्टी नेता तथा कार्यकर्तालाई चिराचिरा पार्ने काम गरेको आरोप लगाए। साइन गरेर ल्याऊ पनि भन्ने, निर्णय पनि मै गर्छु भन्न नमिल्ने तर्क गर्दै उनले भने, ‘यो तपाईं–हाम्रो संस्था हो। संस्थामा भएको व्यक्तिले यो भन्न मिल्दै मिल्दैन।’
जेनजी आन्दोलनअघि सबैका लागि ठीक रहेका सभापति देउवालाई त्यसपछि अनेक लाल्छना लगाइएको भन्दै उनले आपत्ति जनाए। हिजो मन्त्री, भ्रातृ संगठनमा भागबण्डा गर्ने र लिने गरेको भन्दै उनले भने, ‘विभाग, राजनीतिक नियुक्तिमा पनि भागबण्डा लिने। सरकारमा हुँदा संयन्त्रमा पनि बस्ने अनि अहिले जथाभावी बोल्ने यो ठिक भएन।’
अर्का सहमहामन्त्री फरमल्ला मन्सुरले पार्टीसामु विशेष महाधिवेशनमा जानुको विकल्प नभएको दाबी गरे। प्रतिनिधिसभा निर्वाचनमा एकजुट भएर नयाँ नीति र नेतृत्वका साथ जानुपर्ने धारणा राख्दै उनले भने, ‘यसको अलावा कुनै उपाय छैन।’
प्रकाशित: २८ कार्तिक २०८२ १०:०९ शुक्रबार