नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले देशमा अप्रत्याशित राजनीतिक घटनाक्रम विकास भएको र यसले पार्टीलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा बोल्दै उनले अब पार्टीको नेतृत्व हस्तान्तरण लगायतका विषयमा आगामी महाधिवेशनमा खुला बहस हुने संकेत गरेका हुन्।
सचिव भट्टराईले जेन-जी आन्दोलनकै कारण जननिर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको परिस्थितिलाई एमालेले गम्भीर रूपमा लिएको बताए।
बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा यी सबै घटनाक्रमको समीक्षा गरिएको उनले जानकारी दिए।
‘भदौ २२ गते विधान महाधिवेशन सम्पन्न गर्दा हाम्रो सोचाइ ११औँ महाधिवेशनमा पनि केपी ओलीलाई अध्यक्ष बनाउने, पार्टी संगठन सुदृढ गर्ने र २०८४ को चुनावमा बहुमत ल्याउने थियो,’ उनले भने, ‘तर २४ घण्टा नबित्दै यति ठूला घटना भयो कि अब हामी त्यो ठाउँमा छैनौँ। ती योजनाहरू अवरुद्ध भएका छन्।’
उनले विधान महाधिवेशनमा केपी ओलीको निरन्तरताका लागि हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि पुनर्विचार हुन सक्ने बताए। ‘नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा उठिरहेको सन्दर्भमा त्यसलाई सहज गर्न दुई कार्यकालको प्रणालीलाई फेरि पुनर्स्थापित गर्ने हो कि भन्ने बहस पनि आवश्यक छ,’ उनले भने।
भट्टराईले पछिल्लो घटनाक्रमले पार्टीका प्रमुख नेताहरूले पद त्याग गर्नुपर्छ भन्ने एउटा आम धारणा बनेको र त्यसको प्रभाव पार्टीभित्र पनि परेको स्वीकार गरे।
उनले अध्यक्ष ओली एक परिपक्व र देश-विदेश बुझेको नेता भएको बताउँदै पार्टीभित्र र बाहिरबाट आएको दबाबको परिस्थितिमा उनले कस्तो निर्णय लिन्छन् भन्ने कुरा भविष्यले देखाउने बताए।
उनले भने, ‘हाम्रो अध्यक्षले आफ्नो बाल्यकाल सामान्य परिवारमा र जवानी जेलमा बिताउनुभयो। त्यसपछि लगातार पार्टीको पूर्णकालीन काममा हुनुहुन्छ। यो उचाइ प्राप्त गरेको मान्छेले अनुभव र ज्ञानबाट हामी लाभान्वित हुने हो। तर परिस्थिति फेरिएको छ, उहाँमाथि दबाब पनि छ।’
भट्टराईले आगामी मंसिरको अन्त्यतिर हुने राष्ट्रिय महाधिवेशनबाटै नेतृत्वको विषय टुंगो लाग्ने संकेत गरे। ‘महाधिवेशनबाट नेतृत्व पुनर्नविकृत हुने हो कि, उहाँले हस्तान्तरण गर्नुहुन्छ कि, वा प्रतिस्पर्धाबाट अर्को कोही अध्यक्ष भएर आउँछ, त्यो अहिले भन्न सकिँदैन,’ उनले भने, ‘तर यस्तो तरल अवस्थामा पार्टीको एकतालाई बलियो बनाउँदै नेतृत्वको सवाललाई उचित ढंगले निरुपण गर्नुपर्ने ठाउँमा नेकपा एमाले आइपुगेको छ।’
प्रकाशित: २९ आश्विन २०८२ १९:२८ बुधबार