राजनीति

देउवाले जस्तो हस्तक्षेप गर्न नसक्दा दोस्रो पुस्ता चुक्यो: प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको दोस्रो पुस्ताका नेताहरूले समयमै हस्तक्षेप गरेर नेतृत्व लिन नसक्दा अहिले पार्टीमा पुस्तान्तरणको बहस जटिल बनेको टिप्पणी गरेका छन्।

उनले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समयमा जसरी हस्तक्षेप गरेर नेतृत्वमा स्थान बनाए, त्यसरी दोस्रो पुस्ताले गर्न नसकेको वा नचाहेको बताए।

बुधबार नागरिक न्युजको डिजिटल कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै नेता पौडेलले अहिलेको नेतृत्व लामो समयसम्म कायम रहनुमा दोस्रो पुस्ताको कमजोरी पनि जिम्मेवार रहेको औंल्याए।

लामो समय एउटै नेतृत्व कायम रहेको प्रसंगमा उनले भने, ‘सभापतिज्यू ५० वर्षको उमेरमा प्रधानमन्त्री हुनुभयो। उहाँको नेतृत्व झन्डै ३० वर्ष चलिरहेको छ। केपी ओलीजी पनि २०५१ सालमा उपप्रधानमन्त्री हुनुभएको थियो। प्रचण्डजीले माओवादीको नेतृत्व गर्नुभएको २०४८ सालभन्दा अगाडि हो।’

यस्तो लामो नेतृत्व निरन्तर रहिरहँदा दोस्रो पुस्ताले समयमै आफूलाई स्थापित गर्न नसकेको उनको विश्लेषण थियो। ‘दोस्रो पुस्ताले पहिलो पुस्तालाई सहयोग गरेर बिदा गर्न सकेन, चाहेन जस्तो लाग्छ,’ पौडेलले भने, ‘त्यसैले अहिले दोस्रो पुस्तामा सभापति हुने आकांक्षा राख्नेहरूको चाङ थपिएको स्थिति छ।’

उनले सभापति देउवाकै उदाहरण दिँदै भने, ‘अहिलेका सभापति शेरबहादुर देउवाजीले जसरी समयमा हस्तक्षेप गर्न सफल हुनुभयो, अहिलेको दोस्रो पुस्ता त्यस्तो हुन सकेन। जसले गर्दा त्यहाँ (दोस्रो पुस्तामा) चाङ बन्यो।’

उनले अबको महाधिवेशनले यही पुस्तान्तरणको मुद्दालाई सम्बोधन गर्नुपर्ने र पार्टीलाई नयाँ ढंगले अघि बढाउन सक्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

उनले डिजिटल युगमा पुरानो अभ्यासले मात्र पार्टी नचल्ने भन्दै समयसापेक्ष नेतृत्व र विचार आवश्यक रहेको बताए।

प्रकाशित: १९ कार्तिक २०८२ १९:५९ बुधबार