जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। नयाँ नेतृत्व चयनका लागि वीरगञ्जस्थित टाउन हलमा महाधिवेशन आयोजना गर्ने तय भएको हो।
पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित हुनेछन्। जसका लागि असोज १ गते नै सम्पूर्ण पदको उम्मेदवारी मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
सार्वजनिक समयतालिका अनुसार जिल्लाहरूबाट मनोनित गरिएका महाधिवेशन प्रतिनिधिहरूको विवरण भदौ २८ गते आइतबारभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ।
त्यसलगत्तै भदौ २९ गते मतदाता नामावली प्रकाशन हुनेछ भने भदौ ३० गते दाबी-विरोधको समय तोकिएको छ। भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारी दर्ता भएपछि असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। असोज ३ गते दाबी-विरोध, असोज ४ गते नाम फिर्ता र असोज ५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष सर्राफले जानकारी दिए।
महाधिवेशनको पूर्वसन्ध्यामा असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। त्यसको भोलिपल्ट असोज १० गते शनिबार महाधिवेशनको औपचारिक उद्घाटनसँगै मतदान सम्पन्न हुनेछ भने असोज ११ गते मतगणना गरी अन्तिम परिणाम घोषणा गरिने पार्टीले जनाएको छ।
प्रकाशित: २३ भाद्र २०८३ २०:०२ मंगलबार