नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको वर्तमान राजनीतिमा सरकार चलाउनुभन्दा प्रतिपक्षको भूमिका निर्वाह गर्नु बढी चुनौतीपूर्ण रहेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित ‘नेपाल थारु संघ’को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस अब जनताको विश्वास र भरोसा पुन:स्थापित गर्ने अभियानमा केन्द्रित हुने बताए।
सभापति थापाले प्रतिपक्षमा रहँदा केवल आलोचना मात्र नभई नागरिकको मुद्दालाई सशक्त ढंगले उठाउनुपर्ने दायित्व हुने उल्लेख गरे।
‘प्रतिपक्षको भूमिका सरकार चलाउनुभन्दा गाह्रो छ, किनकि हामीले नागरिकको भरोसा जित्नुपर्छ,’ उनले भने, ‘सरकारमा बस्दा निर्णय गरे पुग्छ, तर प्रतिपक्षमा बस्दा नैतिक साहस, तागत र जनताको विश्वास चाहिन्छ। हामी यो जिम्मेवारीलाई न्यायपूर्ण ढंगले पूरा गर्छौं।’
थापाले सरकारका कामकारबाहीमा कांग्रेसको भूमिका गुण र दोषका आधारमा हुने प्रस्ट पारे। सरकारले गर्ने राम्रा काममा समर्थन रहने उल्लेख गर्दै उनले संविधान र विधिको शासन मिच्न खोजे कांग्रेस सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिए।
‘लोकतान्त्रिक मूल्य-मान्यता र प्रक्रियाको शुद्धतामा कुनै सम्झौता हुँदैन, सरकार गलत बाटोमा हिँड्न खोजे कांग्रेसले खबरदारी गर्छ,’ उनले थपे।
थापाले वर्तमान सरकार निम्न वर्ग र गरिब समुदायप्रति उदासीन रहेको आरोप समेत लगाए। सरकारले गरिबी निवारण गर्नुको सट्टा गरिबलाई नै समस्यामा पारेको उनको तर्क थियो।
‘सरकारले गरिबी हटाउने होइन, गरिबलाई नै मास्न खोजिरहेको आभास भएको छ,’ सभापति थापाले भने, ‘भूमिहीन र सुकुम्वासीमाथि राज्यले गरिरहेको व्यवहारले यो सरकार निम्न वर्गको हितमा छैन भन्ने पुष्टि गर्छ।’
थापाले कांग्रेसलाई जगैदेखि बदल्ने संकल्प दोहोऱ्याए। उनले आगामी स्थानीय निर्वाचनमा कांग्रेसले कम्तीमा १०० वटा पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने लक्ष्य लिएको सुनाए।
उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले ‘लिडरसिप एकेडेमी’ सञ्चालन गर्ने र त्यहाँको कोर्स पूरा गरेकालाई मात्र प्राथमिकता दिइने उनको भनाइ थियो।
प्रकाशित: १६ जेष्ठ २०८३ १७:१४ शनिबार