नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै उनले संसदमा नयाँ शक्तिको आगमनले चुनौतीसँगै काम गर्ने ऊर्जासमेत थपेको बताएका हुन्।
थकालीले संसदमा नयाँ र युवा अनुहारहरूको उपस्थितिलाई सकारात्मक रूपमा लिएको बताए।
‘नयाँ दल र युवाहरूको आगमनले हामीलाई पनि नयाँ ऊर्जा दिएको छ। उहाँहरूको उपस्थितिले हामीलाई अझ जिम्मेवार भएर काम गर्न चुनौती थपेको छ,’ उनले भने।
लोकतन्त्रमा सबै दलहरू एकै ठाउँमा उभिएर देशको हितका लागि काम गर्नुपर्नेमा उनले जोड दिए।
उनले संसदमा जुनसुकै दलको भए पनि युवा सांसदहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
‘संसदमा हाम्रा मिनी संसदहरू छन्, जहाँ हामी दलगत स्वार्थभन्दा माथि उठेर छलफल र सहकार्य गर्न सक्छौं,’ थकालीले सुनाए।
रास्वपाले प्रतिपक्षी बेन्चमा बसेर सशक्त वाचडगको भूमिका खेल्ने भन्दै उनले अब नयाँ र पुराना सबै दलहरू मिलेर देशको आर्थिक समृद्धिको दिशामा लाग्नुपर्ने बताए।
प्रकाशित: २५ चैत्र २०८२ २०:१२ बुधबार



