पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको प्रयास गरेका पछिल्ला घटनालाई गम्भीर संकटको अभिव्यक्तिका रूपमा लिनुपर्ने बताएका छन्।
भट्टराईले गणेश नेपाली र पछिल्लो समय एक युवकले काठमाडौंमा दिनदहाडै आत्मदाहको प्रयास गरेको घटनालाई ‘असाध्यै चिन्ताजनक’ भनेका छन्। गणेश नेपालीले असार २५ मा त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए भने सोमबार सोही क्षेत्रमा नाम नखुलेका ती युवाले आफूले चलाउने बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेका ती युवाको सोमबार राति नै मृत्यु भइसकेकव छ।
सामाजिक सञ्जालमार्फत भट्टराईले युवाहरूले आत्मदाहको बाटो रोज्नु राज्य प्रणाली तथा आर्थिक–सामाजिक परिस्थितिप्रति चरम निराशा र अविश्वासको संकेत भएको भनाइ राखे। उनले सत्तामा रहेका र नरहेका राजनीतिक शक्ति तथा सबै सरोकारवालाले यस्ता घटनालाई गम्भीर संकटको अभिव्यक्तिका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
देशमा लामो समयदेखि चुलिँदै आएको अर्थ–राजनीतिक र भू–राजनीतिक समस्याको दिगो तथा संरचनात्मक समाधान नभएसम्म जोसुकै सत्तामा बसे पनि यस्ता विपत्ति दोहोरिन सक्ने भट्टराईको भनाइ छ।
उनले राजनीतिक शक्तिहरूलाई एकअर्काविरुद्ध उत्तेजक अभिव्यक्ति दिँदै मुठभेडको वातावरण सिर्जना नगर्नसमेत आग्रह गरेका छन्। ‘देखाइदिने’ वा ‘सडक संघर्षको आँधीबेहरी ल्याइदिने’ जस्ता आवेगात्मक अभिव्यक्तिबाट मुठभेडको तयारी गर्नु आत्मघाती हुने उनले बताएका छन्।
'एउटै झिल्कोले भयंकर डढेलो लगाउन सक्छ' भन्ने चर्चित भनाइ स्मरण गर्दै भट्टराईले आत्मदाहको बाटो रोज्ने हतास युवाहरूको विद्रोहलाई हल्का रूपमा नलिन आग्रह गरेका छन्।
प्रकाशित: ६ आश्विन २०८३ ०९:१६ मंगलबार