राजनीति

जेन-जीले माओवादी सही रहेछ भन्ने बुझिसके, उनीहरूको असली पार्टी नै माओवादी हो: दाहाल

फाइल।

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए।

संयोजक दाहालले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको सुनाए।

‘हाम्रो पार्टी नै जेन-जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,‘ उनले भने, ‘जेन-जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’

सरकारमा बस्दा जेन-जीहरूलाई दमन गर्ने  र जेन-जीका माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले थपे ‘सरकारमा बसेर जेन-जीहरुलाई दमन गर्ने र सडकमा जेन-जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरुले प्रचार गर्ने गरेका छन्। हामी उनीहरु जस्तै होइनौं। माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन-जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर द्धुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत पनि दिदै दाहालले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन-जीका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गरे। पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए।

जेन-जीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका ऐजेण्डा एउटै भएको बताउँदै देश अहिले माओवादी केन्द्रले अगाडि सारेका एजेण्डाहरू अनुसार अघि बढेको उनले बताए।

साथै, अबको नेतृत्व पनि माओवादी केन्द्रले लिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २९ आश्विन २०८२ १६:४१ बुधबार